काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा जीवन बीमा कम्पनीहरूको नयाँ व्यापारमा उत्साहजनक प्रगति देखिएको छ ।
नेपाल बीमा प्राधिकरणले सोमबार (आज) सार्वजनिक गरेको तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीले एक वर्षमा ४९ अर्ब ४० करोड ३३ लाख रुपैयाँ प्रथम बीमाशुल्क (नयाँ व्यापार) संकलन गरेका छन् ।
अघिल्लो आव २०८१/८२ मा कम्पनीहरूले ४० अर्ब १७ करोड ६० लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका थिए । अघिल्लो आवको तुलनामा बीमा कम्पनीहरूको नयाँ व्यापार २२.९७ प्रतिशतले बढेको छ ।
१ वर्षको अवधिमा सबैभन्दा धेरै नयाँ व्यापार भित्र्याउनेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले एक वर्षमा १३ अर्ब ७ करोड ९२ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो आवको तुलनामा २४.६२ प्रतिशतले बढेको छ । अघिल्लो आवमा कम्पनीले १० अर्ब ४९ करोड ५१ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको थियो ।
दोस्रो धेरै व्यापार भित्र्याउनेमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले एक वर्षको अवधिमा ६ अर्ब ९४ करोड ५२ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवमा कम्पनीले ५ अर्ब ८४ करोड ९३ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको थियो । अघिल्लो आवको तुलनामा समीक्षा वर्षमा कम्पनीको नयाँ व्यापार १८.७३ प्रतिशतले बढेको छ ।
तेस्रो धेरै व्यापार भित्र्याउने कम्पनीमा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले एक वर्षमा ३ अर्ब ७४ करोड ५५ लाख रुपैयाँ संकलन गरेको छ । कम्पनीले अघिल्लो आवमा ३ अर्ब ६ करोड ९१ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको थियो । अघिल्लो आवको तुलनामा समीक्षा वर्षमा कम्पनीको नयाँ व्यापार २२.०४ प्रतिशतले बढेको छ ।

त्यसैगरी, १ वर्षमा लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआईसी नेपाल) ले ३ अर्ब ५३ करोड ७३ लाख रुपैयाँ, सिटिजन लाइफले ३ अर्ब १० करोड ७७ लाख रुपैयाँ, हिमालयन लाइफले २ अर्ब ९३ करोड २६ लाख रुपैयाँ, आइएमई लाइफले २ अर्ब ७७ करोड ४२ लाख रुपैयाँ, एसियन लाइफले २ अर्ब ७१ करोड ० लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले २ अर्ब ३३ करोड ५३ लाख रुपैयाँ र रिलायबल नेपाल लाइफले २ अर्ब २७ करोड ३८ लाख रुपैयाँ नयाँ बीमा शुल्क संकलन गरेका छन् ।
अघिल्लो आवको तुलनामा समीक्षा वर्षमा एलआईसी नेपालको नयाँ व्यापार १६.४३ प्रतिशत, सिटिजन लाइफको ४२.२७ प्रतिशत, हिमालयन लाइफको ४.६० प्रतिशत, आइएमई लाइफको ६४.९८ प्रतिशत, एसियन लाइफको २६.५२ प्रतिशत, सानिमा रिलायन्स लाइफको १९.८६ प्रतिशत र रिलायबल नेपाल लाइफको ३८.७४ प्रतिशत नयाँ व्यापार बढेको छ ।
त्यस्तै, प्रभु महालक्ष्मी लाइफले २ अर्ब १५ करोड २० लाख रुपैयाँ, मेट लाइफले १ अर्ब ६४ करोड ११ लाख रुपैयाँ, सन नेपाल लाइफले १ अर्ब ३७ करोड ६ लाख रुपैयाँ र राष्ट्रिय जीवन बीमा कम्पनीले ७९ करोड ७६ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका छन् । अघिल्लो आवको तुलनामा समीक्षा वर्षमा प्रभु महालक्ष्मी लाइफको नयाँ व्यापार ३४.६१ प्रतिशत, मेट लाइफको १३.१७ प्रतिशत र सन नेपाल लाइफको १७.७४ प्रतिशतले बढेको छ ।
राष्ट्रिय जीवन बीमा कम्पनीको भने नयाँ व्यापार २६.२६ प्रतिशतले घटेको छ ।