सप्तकोशीको ढुकुटीको पैसा अपचलन, रिलायन्सलाई २ हजार ९२४ रुपैयाँ जरिवाना

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थामा देखिएका नियामकीय कमजोरी र निर्देशन उल्लंघनका आधारमा सम्बन्धित पदाधिकारी तथा संस्थामाथि कारबाही गरेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार सप्तकोशी डेभलपमेण्ट बैंकको २०८२ असोज मसान्तको अपरिष्कृत वित्तीय विवरणका आधारमा गरिएको समष्टिगत स्थलगत निरीक्षणका क्रममा बैंकको भल्टमा रहेको नगदमा अपचलन भएको तथा ग्राहकको खातामा कर्मचारीको अनधिकृत पहुँच भएको भेटिएको थियो । यसबाट संस्थाको आन्तरिक नियन्त्रण प्रणालीमा गम्भीर कमजोरी देखिएको राष्ट्र बैंकले जनाएको छ ।

यस्ता घटना जानकारी भएपछि पनि विस्तृत छानबिन गरी दोषीमाथि कारबाही नगरेको, आन्तरिक नियन्त्रण तथा आन्तरिक जाँच प्रणालीका कमजोरी पहिचान गरी नीति तथा कार्यविधिमा आवश्यक सुधार गर्न नसकेको भन्दै बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार पोखरेललाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १००(२)(क) बमोजिम सचेत गराइएको छ । सोही प्रकरणमा बैंकको सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरूलाई पनि आन्तरिक नियन्त्रण प्रणाली सुदृढ बनाउन आवश्यक सुधार नगरेको ठहर गर्दै सचेत गराइएको छ ।

त्यसैगरी नारायणी डेभलपमेण्ट बैंक लिमिटेडका तत्कालीन प्रमुख कार्यकारी अधिकृत विष्णु रेग्मीलाई पनि राष्ट्र बैंकले सचेत गराएको छ । समस्याग्रस्त संस्थाको सूचीबाट हटाउँदा तोकिएको शर्तअनुसार एउटै ग्राहक वा आपसी सम्बन्ध भएका ग्राहक समूहलाई प्राथमिक पुँजीको अधिकतम १० प्रतिशतसम्म मात्र कोषमा आधारित तथा गैरकोषमा आधारित सुविधा प्रदान गर्नुपर्ने व्यवस्था रहे पनि आर्थिक वर्ष २०८१÷८२ मा उक्त सीमा उल्लंघन गरी कर्जा प्रवाह गरिएको भेटिएपछि तत्कालीन सीईओ रेग्मीलाई सचेत गराइएको छ ।

साथै, रिलायन्स फाइनान्सले २०८२ फागुन १० गतेदेखि २०८३ वैशाख ५ गतेसम्मको अवधिमा अनिवार्य मौज्दात रकम कायम नगरेको भन्दै राष्ट्र बैंकले विद्यमान व्यवस्थाअनुसार २ हजार ९२४ रुपैयाँ जरिवाना तिराएको छ । 

Share News