मानव संसाधन विकासका लागि जापानले नेपाललाई ४१० मिलियन येन अनुदान दिने

काठमाडौं । नेपाल सरकार र जापान सरकारबिच ४१० मिलियन जापानी येन बराबरको अनुदान सम्झौता सम्पन्न भएको छ । नेपाल भ्रमणमा रहेका जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका) का अध्यक्ष डा. तानाका आकिहिकोले अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेटवार्ता गरेकै अवसरमा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

भेटका क्रममा जाईका अध्यक्ष डा. तानाकाले नयाँ सरकारका प्राथमिकताप्रति चासो व्यक्त गर्दै जापान नेपालको पुरानो विकास साझेदार भएकाले नयाँ सरकारसँग निकट रहेर काम गर्न इच्छुक रहेको बताए । 

प्रत्युत्तरमा अर्थमन्त्री डा. वाग्लेले सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार र निजी क्षेत्रका लागि अनुकूल व्यावसायिक वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै नेपालको पूर्वाधार, सामाजिक क्षेत्र र मानव संसाधन विकासमा जापानले पु¥याएको योगदानको प्रशंसा गरे ।

मंगलबार सम्पन्न अनुदान सम्झौता अनुसार मानव संसाधन विकास छात्रवृत्ति कार्यक्रम अन्तर्गत नेपालका निजामती कर्मचारीहरूलाई जापानका प्रतिष्ठित विश्वविद्यालयहरूमा स्नातकोत्तर तथा विद्यावारिधि (पीएचडी) तहको अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराइनेछ । 

यस कार्यक्रमसम्बन्धी आदान-प्रदान पत्रमा अर्थ सचिव डा. घनश्याम उपाध्याय र नेपालका लागि जापानी राजदूत माएदा तोरुले हस्ताक्षर गरेका छन् भने सोही सम्बन्धी अनुदान सम्झौता पत्रमा अर्थ मन्त्रालयका सहसचिव डा. धनिराम शर्मा र जाईका नेपालका प्रमुख प्रतिनिधि मात्सुजाकी मिजुकीले हस्ताक्षर गरेका हुन् । 

प्राप्त अनुदानले नेपाली निजामती सेवाका जनशक्तिलाई दक्ष एवं उत्पादनशील बनाई सार्वजनिक क्षेत्रमा नीति निर्माण र विकास व्यवस्थापनको क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ ।

Share News