काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा ५ अर्ब ४२ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । सोही अवधिमा कम्पनीले ४ अर्ब ९६ करोड रुपैयाँ दाबी भुक्तानी गर्दै उल्लेखनीय व्यावसायिक सफलता हासिल गरेको जनाएको छ ।
कम्पनीका अनुसार उक्त प्रदर्शनले बीमितप्रतिको प्रतिबद्धता, द्रुत सेवा र ग्राहक विश्वासलाई थप सुदृढ बनाएको छ ।
पछिल्ला केही वर्षयता सलिकोले व्यवसाय विस्तार, सेवा सञ्जालको सुदृढीकरण तथा ग्राहक पहुँचमा निरन्तर वृद्धि गर्दै आएको जनाएको छ । यससँगै दाबी भुक्तानी क्षमतामा पनि उल्लेखनीय सुधार आएको कम्पनीको दाबी छ।
सलिकोका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले ग्राहक, अभिकर्ता, व्यवसायिक साझेदार, कर्मचारी, सेयरधनी, नियामक निकाय तथा अन्य सरोकारवालाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ उत्कृष्ट सेवा, छिटो दाबी भुक्तानी तथा नवीन बीमा समाधानमार्फत ग्राहकको विश्वासलाई थप बलियो बनाउने प्रतिबद्धता जनाए ।
कम्पनीले आगामी दिनमा पनि प्रविधिमैत्री सेवा, सहज दाबी व्यवस्थापन तथा नवीन बीमा समाधानमार्फत ग्राहकलाई सुरक्षित, भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्दै नेपालको बीमा क्षेत्रको दिगो विकासमा योगदानलाई निरन्तर अघि बढाउने जनाएको छ ।