मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र मार्भल टेक्नोप्लास्टबीचको सहकार्यले निरन्तरता पाएको छ । मार्भल टेक्नोप्लास्ट लगातार दोस्रो वर्ष पनि टोलीको एक्सिलेन्स पार्टनरका रूपमा आबद्ध भएको हो ।

बुधबार आयोजित कार्यक्रममा सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी निर्देशक प्रकाश खड्का र मार्भल टेक्नोप्लास्टका उपाध्यक्ष पवनकुमार सन्चेतीले साझेदारी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतापछि प्रमुख कार्यकारी निर्देशक खड्काले दोस्रो वर्ष पनि सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी लागेको बताए । उनले यस साझेदारीले दुवै संस्थाबीचको सम्बन्धलाई अझ मजबुत बनाउँदै ब्रान्ड प्रवर्द्धन, बजार विस्तार तथा व्यावसायिक सहकार्यलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।

उनले मार्भल टेक्नोप्लास्टजस्ता प्रतिष्ठित कम्पनीहरूले नेपाली क्रिकेटमा निरन्तर लगानी गर्नु सकारात्मक रहेको उल्लेख गर्दै यस्ता साझेदारीले नेपाल प्रिमियर लिग मात्र नभई समग्र नेपाली क्रिकेटको विकास, व्यावसायिकता र दीर्घकालीन उन्नयनमा महत्वपूर्ण योगदान पुग्ने बताए ।

मार्भल टेक्नोप्लास्टका उपाध्यक्ष पवनकुमार सन्चेतीले पनि सुदूरपश्चिम रोयल्ससँगको सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी लागेको बताउँदै टोलीलाई आगामी प्रतियोगिताका लागि शुभकामना दिए । उनले नेपाल प्रिमियर लिगजस्ता प्रतियोगिताले खेलमार्फत देशलाई एकताबद्ध गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

एनपीएलको तेस्रो संस्करणको तयारीमा रहेको सुदूरपश्चिम रोयल्सले यसअघि पनि विभिन्न व्यावसायिक साझेदारसँगको सहकार्य विस्तार गर्दै आएको छ । पहिलो दुई संस्करणमा उपविजेता बनेको सुदूरपश्चिम रोयल्स प्रतियोगिताकै सबैभन्दा ठूलो समर्थक (फ्यानबेस) भएको टोलीका रूपमा परिचित छ ।

Share News