डिजिटल जोखिमबाट सुरक्षा दिन शिखर इन्स्योरेन्सको ‘साइबर बीमा’ बजारमा

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले बजारमा ‘साइबर बीमा पोलिसी’ ल्याएको छ । नेपाल बीमा प्राधिकरणबाट स्वीकृति पाएसँगै कम्पनीले साइबर बीमा पोलिसी जारी गर्ने बाटो खुलेको हो ।

पछिल्लो समय डिजिटल प्रणालीमा बढ्दै गएको जोखिमलाई मध्यनजर गर्दै कम्पनीले यो पोलिसी ल्याएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो बीमा पोलिसी विशेषगरी संस्थाहरुलाई लक्षित गरेर ल्याएको हो ।

सूचना प्रविधि कम्पनी, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, व्यापारिक फर्म, उद्योग, अस्पताल र शैक्षिक संस्थाहरूले यो पोलिसी खरिद गर्न सक्नेछन् । हाल यो पोलिसी व्यक्तिगत रूपमा भने उपलब्ध हुनछैन ।

के–के जोखिम कभर हुन्छ ?

यस पोलिसीले साइबर हमला वा साइबर अपराधका कारण संस्थाहरूलाई हुने विभिन्न वित्तीय क्षतिहरूलाई कभर गर्ने कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार साइबर आक्रमणका कारण क्षति भएका तथ्यांकहरू फेरि प्राप्त गर्न लाग्ने खर्च, साइबर अपराधकै कारण व्यवसाय वा सेवा ठप्प हुँदा वा काममा ढिलाइ हुँदा हुने नोक्सानी, सेवाग्राहीप्रतिको दायित्व र कानुनी उपचारका लागि बेहोर्नुपर्ने खर्चलगायत यो पोलिसीले कभर गर्ने छ । 

बीमा शुल्क भने बीमित संस्थाको आवश्यकताअनुसार र जोखिमस्तरअनुसार निर्धारण गरिने कम्पनीले जनाएको छ । हाल यो पोलिसी बजारमा उपलब्ध भइसकेको छ ।  

कम्पनीका अनुसार यो बीमा लिन चाहने संस्थाले प्रस्ताव फारम भरी आफ्नो साइबर सुरक्षा नीति र अवस्थाबारे स्पष्ट जानकारी दिनुपर्नेछ । 

विशेषगरी मास्टर कार्ड वा भिसा कार्ड प्रयोग गर्ने संस्थाहरूको हकमा भने आफ्नो प्रविधिको अनिवार्य लेखा परीक्षण गराउनुपर्ने प्रावधान राखिएको छ ।

नेपालमा साइबरसम्बन्धी यस्तो पोलिसी नयाँ हो । छिमेकी मुलुक भारतलगायत अन्तर्राष्ट्रिय मुलुकहरूमा साइबर बीमा निकै प्रचलनमा रहेको भएपनि नेपालमा भने सुरुवातकै चरणमा रहेको छ । 

यसअघि नेपाल इन्स्योरेन्सले नेपालमा पहिलोपटक साइबर क्राइम पोलिसी जारी गरेको थियो । तर विविध कारणले कम्पनीले बीचमै यो पोलिसी बन्द गर्यो । 

शिखर इन्स्योरेन्सले अहिले ल्याएको पोलिसी भने अन्तर्राष्ट्रिय बीमा साझेदारहरूको सहयोगमा नेपालको कानुन अनुसार परिमार्जन गरी तयार गरेको जनाएको छ । 

ग्राहकको बढ्दो माग र आवश्यकताअनुसार अध्ययन गरेर नै यो पोलिसी ल्याएको हुनाले यसका बीमितको आकर्षण बढ्नेमा कम्पनीले अपेक्षा लिएको छ ।

हाल यसको पुनर्बीमा  ‘केस टू केस’ (आवश्यकता र प्रकृति हेरेर) आधारमा गरिने र भविष्यमा यसलाई सम्झौताकै रूपमा लैजाने योजना कम्पनीले बनाएको छ । इच्छुक संस्थाहरूले शिखर इन्स्योरेन्समा सम्पर्क राखी यो पोलिसी खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । 

Share News