आईजीआई प्रुडेन्सियल र जनमैत्री अस्पतालबीच नगदरहित उपचार सेवा सम्झौता

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र जनमैत्री अस्पतालबीच नगदरहित (क्यासलेस) अस्पताल उपचार सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौतासँगै कम्पनीका स्वास्थ्य बीमा ग्राहकले जनमैत्री अस्पतालबाट बीमालेखको सीमाभित्र रही नगदरहित अस्पताल भर्ना (क्यासलेस हस्पिटलाइजेसन) सेवा लिन सक्ने भएका छन् ।

सम्झौतापत्रमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र जनमैत्री अस्पतालका कार्यकारी निर्देशक स्वरूप श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि आयोजित कार्यक्रममा आईजीआई प्रुडेन्सियलका नायब प्रमुख कार्यकारी अधिकृत रेग्मीले जनमैत्री अस्पतालका सेवाग्राहीले कम्पनीको स्वास्थ्य बीमा खरिद गरी अस्पतालमा नगदरहित उपचार सेवा लिन सक्ने बताए । साथै अस्पताल र त्यससँग आबद्ध सेवाग्राहीले कम्पनीबाट आवश्यक विभिन्न प्रकारका बीमा सेवासमेत सहज रूपमा प्राप्त गर्न सक्ने उनले उल्लेख गरे ।

कार्यक्रममा जनमैत्री अस्पतालका कार्यकारी निर्देशक स्वरूप श्रेष्ठले अस्पतालका सेवाग्राहीको संख्या निरन्तर बढिरहेको उल्लेख गर्दै आईजीआई प्रुडेन्सियलसँगको सहकार्यले बीमितलाई अझ छिटो, सहज र गुणस्तरीय सेवा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले आगामी दिनमा पनि कम्पनीसँगको सहकार्यलाई थप विस्तार गर्दै जाने बताए । 

Share News