एआईमार्फत ब्रान्ड र क्रिएटर जोड्ने ‘भिल’ नेपालमा सार्वजनिक

काठमाडौं । एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म ‘भिल’ ले नेपाल र भारतमा औपचारिक रूपमा सेवा सुरु गरेको छ । कम्पनीले दक्षिण एसियाली बजारमा आफ्नो उपस्थिति विस्तार गर्दै व्यवसाय र कन्टेन्ट क्रिएटरलाई एउटै डिजिटल प्लेटफर्ममार्फत जोड्ने लक्ष्यसहित सेवा शुभारम्भ गरेको जनाएको छ ।

कम्पनीका अनुसार ‘भिल’ले व्यवसाय र क्रिएटरबीचको सहकार्यलाई सहज, व्यवस्थित र प्रभावकारी बनाउने एकीकृत प्रणाली उपलब्ध गराउँछ । यसमार्फत व्यवसायहरूले उपयुक्त क्रिएटर छनोट, क्याम्पेन सञ्चालन, भिडियो सम्पादन तथा स्वीकृति, भुक्तानी व्यवस्थापन र कन्टेन्टको अधिकार संरक्षण गर्न सक्नेछन् । नेपाल र भारतका क्रिएटरहरूले स्वदेशी तथा अन्तर्राष्ट्रिय ब्रान्डसँग प्रत्यक्ष सहकार्य गर्ने अवसर पनि प्राप्त गर्ने कम्पनीको दाबी छ ।

औपचारिक शुभारम्भ कार्यक्रममा बोल्दै कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिलीप ढकालले नेपाल र भारतमा ‘भिल’को सुरुवात दक्षिण एसियाको क्रिएटर अर्थतन्त्रलाई विश्वस्तरमा प्रतिस्पर्धी बनाउने दीर्घकालीन अभियानको हिस्सा भएको बताए । उनले प्लेटफर्मले क्रिएटरलाई दिगो करियर निर्माण गर्न र व्यवसायलाई प्रभावकारी डिजिटल कन्टेन्टमार्फत वृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपालका लागि अमेरिकी नियोगका कार्यवाहक प्रमुख स्कट उर्बोम तथा नेपालका लागि कोस्टारिकाका मानार्थ महावाणिज्यदूत एवं ग्लोबल इक्विटी फन्डका संस्थापक प्रबन्ध साझेदार डा. मनीष थापा विशेष अतिथिका रूपमा सहभागी भएका थिए ।

कम्पनीका अनुसार हाल ‘भिल’मार्फत विश्वभर ४५० भन्दा बढी ब्रान्ड, ५ लाख ५० हजारभन्दा बढी प्रमाणित क्रिएटर तथा १२१ भन्दा बढी देश आबद्ध छन् । नेपाल र भारतका व्यवसायहरूले वेबसाइटमार्फत तथा क्रिएटरहरूले मोबाइल एपमार्फत प्लेटफर्म प्रयोग गर्न सक्नेछन् ।

नेपालमा स्थानीय भुक्तानीलाई सहज बनाउन कम्पनीले एनसीएचएल, फोनपे, ईसेवा, खल्ती र हाम्रो पे सँग साझेदारी गरेको जनाएको छ । कम्पनीका अनुसार यसले नेपाली क्रिएटर अर्थतन्त्रलाई थप मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Share News