अर्जेन्टिनालाई हराउँदै स्पेन विश्वकप विजेता

गाेल गरेपश्चात सेलिब्रेट गर्दै फेरान टोरेस ।

काठमाडौं । स्पेनले अतिरिक्त समयमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ ।

न्युयोर्क–न्यु जर्सी स्टेडियममा सम्पन्न फाइनल खेलमा निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न सकेनन् । खेल अतिरिक्त समयमा पुगेपछि फेरान टोरेसले १०६औं मिनेटमा गरेको निर्णायक गोलले स्पेनलाई दोस्रो पटक विश्वकप च्याम्पियन बनायो । यसअघि स्पेनले सन् २०१० मा पहिलो पटक विश्वकप जितेको थियो ।

अर्जेन्टिनाका मिडफिल्डर एन्जो फर्नान्डेजले पहिलो हाफको इन्जुरी समयमा रातो कार्ड पाए । त्यसपछि अर्जेन्टिनाले बाँकी खेल १० खेलाडीमा सीमित हुँदै खेल्नुपरेको थियो ।

स्पेनले खेलभर बलमाथि नियन्त्रण कायम राख्दै निरन्तर दबाब सिर्जना गरे पनि अर्जेन्टिनाको रक्षापंक्तिले लामो समयसम्म गोल हुन दिएको थिएन । अतिरिक्त समयमा टोरेसले अवसरको सदुपयोग गर्दै स्पेनलाई ऐतिहासिक जित दिलाएका हुन् ।

यससँगै स्पेनले आफ्नो दोस्रो विश्वकप उपाधि जित्दै विश्व फुटबलमा पुनः आफ्नो प्रभुत्व स्थापित गरेको छ । अर्कोतर्फ कतार २०२२ को विजेता अर्जेन्टिना लगातार दोस्रो विश्वकप जित्ने लक्ष्यमा असफल भयो ।

संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको फिफा विश्वकप २०२६ इतिहासकै सबैभन्दा ठूलो संस्करण हो । यस प्रतियोगितामा पहिलो पटक ४८ टोली सहभागी भएका थिए भने कुल १०४ खेल खेलाइएका थिए ।

स्पेन प्रतियोगिताभर नै उत्कृष्ट प्रदर्शन गर्दै विश्व फुटबलको सर्वोच्च उपाधि आफ्नो नाममा लेखाउन सफल भएको हो ।

Share News