काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू मिल्नुपर्ने प्रस्तावप्रति विमति प्रकट गरेका छन् ।
आइतबार ललितपुरमा आयोजित सन्त नेता कृष्णप्रसाद भट्टराईको शालिक अनावरण तथा ४४ औं वीपी स्मृति सप्ताहको शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो प्रस्तावले लोकतान्त्रिक मूल्य र जनमतको अपमान हुने बताएका हुन् ।
सभापति थापाले तीन दल मिलेर सरकार बनाउनु भनेको प्रदेश संसदलाई प्रतिपक्षविहीन बनाउनु भएको टिप्पणी गरे ।
तीन दलीय सरकार बनाउनु जनताले दिएको म्याण्डेटभन्दा फरक कुरा भएकाले कांग्रेसले यसलाई स्वीकार गर्न नसक्ने स्पष्ट पारे ।
उनले नेपाली कांग्रेसले विगतमा सत्ताकै लागि कतिपय गल्ती गरेको स्वीकार गर्दै अब सिद्धान्तमा सम्झौता नगर्ने स्पष्ट पारे ।
सत्तालाई नै सबैथोक मान्ने सोचका कारण वि.सं. २०७२ सालयताको राजनीति अस्थिर र दिशाहीन बनेको उनको तर्क छ ।
राजनीतिक दलहरूमा देखिएको सत्तामुखी प्रवृत्तिको आलोचना गर्दै थापाले बिहानसम्म सत्तापक्ष भएको दल भोलिपल्ट प्रतिपक्ष र प्रतिपक्षमा भएको दल एकाएक सत्तापक्ष हुने प्रवृत्तिले गर्दा राजनीतिको साख गिरेको बताए ।
सत्ता नै सबै कुरा हो भन्ने मान्यताले गर्दा कांग्रेससहितका पुराना दलहरूले अहिले ठूलो मूल्य चुकाउनु परिरहेको पनि उनले बताए ।
सभापति थापाले चुनावी गठबन्धन र सत्ता समीकरणमा देखिएको अस्थिरताले दलहरूको पहिचान नै संकटमा परेको बताए ।
उनले कांग्रेस अब सरकारमा जाने वा सत्ता टिकाइराख्ने खेलमा मात्र नलागी आफ्ना आधारभूत सिद्धान्त र नागरिकको म्यान्डेटप्रति इमान्दार रहनुपर्नेमा जोड दिए ।
कांग्रेस सबै पुस्तालाई जोड्ने एउटा सुदृढ राष्ट्रिय शक्ति बन्नुपर्छ
सभापति थापाले नेपाली कांग्रेस सबै जातजाति, भाषाभाषी र भूगोलका साथै सबै पुस्तालाई जोड्ने एउटा सुदृढ राष्ट्रिय शक्ति बन्नुपर्ने बताए । उनले पार्टीमा नयाँ पुस्ताको आगमन र उनीहरूको अर्थपूर्ण सहभागिता अपरिहार्य रहेको बताएका हुन् ।
पार्टीभित्र आफूभन्दा अघिल्ला दुई पुस्ता र पछिल्ला दुई पुस्ता सक्रिय रहेको उल्लेख गर्दै थापाले नेपाली कांग्रेसले विगतमा सबै जातजाति र भाषाभाषीलाई जोड्ने शक्तिको रूपमा काम गरेझैं अब सबै पुस्तालाई जोड्ने सामथ्र्य पनि राख्नुपर्ने बताए ।
सका लागि नयाँ पुस्तालाई पार्टीमा स्वागत मात्र गरेर नपुग्ने भन्दै उनीहरूको कुरा सुन्ने र दृष्टिकोण बुझ्ने धैर्यता पनि बुझ्नुपर्ने उनको भनाइ छ ।
नयाँ पुस्ताको सहभागितालाई ‘टोकन’ वा औपचारिकतामा मात्र सिमित राख्न नहुने उनको तर्क छ ।
पछिल्लो समय समाजमा बढ्दै गएको पुस्तान्तरणको खाडलप्रति सचेत गराउँदै थापाले ६०–६५ वर्ष नाघेका नागरिकलाई ‘वर्ग शत्रु’ का रूपमा चित्रण गर्ने सोच गलत भएको बताए ।
यस्ता नकारात्मक चिन्तनबाट समाजलाई मुक्त राख्ने जिम्मेवारी कांग्रेसकै भएको उनको भनाइ छ ।
विगतको संविधान सभा कालखण्डमा समाज जातीय आधारमा विभाजित हुन लागेको स्मरण गर्दै सभापति थापाले कांग्रेसले नै सबैको पहिचान र सम्मानलाई स्थापित गर्दै मुलुकलाई जोगाएको दाबीसमेत गरे ।