एम्बाप्पे बने विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी

काठमाडौं । फ्रान्सका स्ट्राइकर किलियन एम्बाप्पे विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बनेका छन् ।

आइतबार बिहान तेस्रो स्थानका लागि भएको खेलमा इंग्ल्यान्डसँग ६-४ ले पराजित हुने क्रममा उनले दुई गोल गर्दै उनी सर्वाधिक गोलकर्ता बनेका हुन् ।

२७ वर्षीय एम्बाप्पेले विश्वकपमा आफ्नो कुल गोल संख्या २२ पुर्याउँँदै अर्जेन्टिनाका लियोनेल मेसी (२१ गोल) लाई पछि पारे । मेसीले आइतबार राति स्पेनविरुद्ध फाइनल खेल खेल्दैछन्, जुन सम्भवतः उनको अन्तिम विश्वकप खेल हुनेछ । त्यसको विपरीत एम्बाप्पेले भने कम्तीमा अर्को एक विश्वकप खेल्ने सम्भावना छ ।

तेस्रो विश्वकप यात्रा सकिँदा एम्बाप्पेले प्रतियोगितामा १० गोल गर्दै गोल्डेन बुटको दौडमा शीर्ष स्थान कायम राखेका छन् । उनी मेसीभन्दा दुई गोलले अघि छन् ।

यदि मेसीले फाइनलमा दुई वा त्यसभन्दा बढी गोल गरे भने उनले फेरि विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ताको स्थान पुनः कब्जा गर्नेछन् ।

रियल म्याड्रिडका फरवार्ड एम्बाप्पेले २२ खेलमा २२ गोल गर्ने उपलब्धि हासिल गरेका हुन् । उनले २०१८ विश्वकपमा ४ गोल र २०२२ विश्वकपमा ८ गोल गरेका थिए । ती दुवै संस्करणमा फ्रान्स फाइनल पुगेको थियो, जसमा २०१८ मा क्रोएसियालाई हराउँदै उपाधि जितेको थियो भने चार वर्षपछि अर्जेन्टिनासँग फाइनलमा पराजित भएको थियो ।

यति कम समयमा विश्वकपको सर्वाधिक गोलकर्ता बन्नु आफैमा असाधारण उपलब्धि मानिन्छ ।

अर्कोतर्फ फ्रान्सका महान् स्ट्राइकर जस्ट फन्टेनको नाममा रहेको अर्को ऐतिहासिक कीर्तिमान भने अझै अटुट छ । उनले १९५८ को विश्वकपको एउटै संस्करणमा १३ गोल गरेका थिए, जुन आजसम्म पनि कुनै पनि खेलाडीले एकै विश्वकप संस्करणमा गरेको सर्वाधिक गोलको कीर्तिमान हो ।

एम्बाप्पेले भने, ‘मेस्सीले आइतबार गोल गर्नेछन्, त्यसमा मलाई कुनै शंका छैन । म त केवल आफ्नो टोलीलाई जिताउन मद्दत गर्ने प्रयास गरिरहेको छु । विश्वकपमा धेरै गोल गर्नु भनेको तपाईंलाई एउटा विशेष स्तरमा पुर्याउँछ ।’

उनले थपे, ‘म विश्वकपको सर्वाधिक गोलकर्ता बन्नुभन्दा पनि भोलिको खेल खेलिरहेको भए राम्रो हुन्थ्यो । इतिहासका हिसाबले यो ठूलो उपलब्धि हो, तर अहिले मेरो दिमागमा सबैभन्दा पहिले यही कुरा छैन ।’

Share News