हराएको सिम फेर्न अब लाइन बस्न नपर्ने, टेलिकमले सुरु गर्‍यो अनलाइन सेवा

काठमाडौं । नेपाल टेलिकमले हराएको वा बिग्रिएको सिम कार्ड प्रतिस्थापनका लागि अनलाइन आवेदन दिने सुविधा सञ्चालनमा ल्याएको छ । साउन १ गतेदेखि लागू भएको यो व्यवस्थामार्फत ग्राहकले घरमै बसेर नयाँ फिजिकल वा ई–सिमका लागि आवेदन दिन सक्ने भएका हुन् ।

टेलिकमका अनुसार ग्राहकले esim.ntc.net.np मा लगइन गरी 'एप्लाई फर लस्ट/ड्यामेज्ड सिम’ विकल्पमार्फत आवश्यक विवरण भरेर आवेदन दिन सक्नेछन् । आवेदन प्रक्रिया पूरा भएपछि ग्राहक स्वयं वा तोकिएको प्रतिनिधिमार्फत सम्बन्धित काउन्टरबाट नयाँ सिम लिन सकिने व्यवस्था गरिएको छ ।

प्रतिनिधिमार्फत सिम लिनुपर्ने अवस्थामा आवेदनमै प्रतिनिधिको नाम उल्लेख गर्नुपर्नेछ भने प्रतिनिधिले आफ्नो परिचय खुल्ने आधिकारिक कागजात पनि पेश गर्नुपर्ने टेलिकमले जनाएको छ । सेवा शुल्क काउन्टरमै तिर्न सकिने व्यवस्था गरिएको छ ।

टेलिकमका अनुसार ग्राहकको गोपनीयता र सुरक्षालाई ध्यानमा राखेर यो प्रणाली विकास गरिएको हो । नयाँ सुविधाले हराएको वा बिग्रिएको सिम प्रतिस्थापन प्रक्रिया थप सहज, छिटो र झन्झटरहित हुने विश्वास कम्पनीको छ ।

यस पोर्टलमार्फत नयाँ प्रिपेड ई–सिम लिन, फिजिकल सिमलाई ई–सिममा रूपान्तरण गर्न, नयाँ फिजिकल सिम प्राप्त गर्न तथा ग्राहक विवरण (केवाईसी) अद्यावधिक गर्नेसहितका सेवासमेत उपलब्ध रहेको नेपाल टेलिकमले जनाएको छ । 

Share News