काठमाडौं । काठमाडौंको साङ्ला क्षेत्रको निजी गुठीको जग्गा किर्ते कागजात र अभिलेख सच्याएर रैकर कायम गरी बिक्री गरेको आरोपमा मालपोत कार्यालयका कर्मचारीसहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार (आज) विशेष अदालत काठमाडौंमा मालपोत कार्यालय टोखा–सरस्वती र डिल्लीबजारका तत्कालीन कर्मचारी तथा अन्य व्यक्तिविरुद्ध आरोपपत्र दायर गरेको हो ।
आयोगका अनुसार साविक साङ्ला गाविस–९ का कित्ता नम्बर १४९, १५४, १५५ र १५७ लगायतका जग्गा दर्ता श्रेस्तामा निजी गुठीका रूपमा कायम रहेको अवस्थामा अभिलेखमा रहेको ‘गुठी’ शब्द मेटेर रैकर निजी देखाउने गरी अभिलेख सच्याइएको थियो । त्यसपछि नामसारी, कित्ताकाट र राजीनामा पारित गरी जग्गाको किनबेच गरिएको अनुसन्धानबाट खुलेको छ ।
अनुसन्धानका क्रममा राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको परीक्षण प्रतिवेदन तथा भूमि व्यवस्थापन तथा अभिलेख विभागको एलआरआईएमएस अभिलेखबाट गुठीसम्बन्धी विवरण हटाएर विद्युतीय अभिलेख संशोधन गरिएको पुष्टि भएको आयोगले जनाएको छ ।
यस प्रकरणमा मालपोत कार्यालय टोखा–सरस्वतीका तत्कालीन कार्यालय प्रमुख सुबोधकुमार खनाल, नायब सुब्बा रामप्रसाद शर्मा ढकाल, कम्प्युटर अपरेटर जयराम खत्री, नाजोराम भगत, जानुका सापकोटा, नासु कृष्णप्रसाद पोखरेल, खरिदार रुद्रप्रसाद आचार्य तथा मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन खरिदार सूर्यराज पोखरेलसहित अन्य व्यक्तिविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवानाको माग गरिएको छ।
त्यसैगरी, सुरेश प्रधान, शंकरमान प्रधान, पिपल प्रधान, राम प्रधान, कपिलबहादुर प्रधान, पुरुषोत्तम प्रधान र सुरेश ढकाललाई गैरकानुनी लाभ प्राप्त गर्ने मतियारको रूपमा प्रतिवादी बनाइएको छ । हालका जग्गाधनी स्वर्गीय रमा थापाका हकवालासहित केही व्यक्तिलाई भने जग्गाधनी दर्ता श्रेस्ता बदर गरी गुठी कायम गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी बनाइएको आयोगले जनाएको छ ।