मोरक्कोलाई २–० ले हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा

मोरक्काेविरुद्ध गाेल गरेपछि सेलिब्रेट गर्दै एम्बाप्पे ।

काठमाडौं । फ्रान्सले फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा मोरक्कोलाई २–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ ।

पेनाल्टीमा चुकेका कप्तान केलियन एम्बाप्पेले दोस्रो हाफमा गोल गर्दै आफ्नो गल्ती सच्याए भने उस्मान डेम्बेलेको गोलसँगै फ्रान्सले मोरक्कोलाई २–० ले हराउँदै विश्वकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।

बोस्टन स्टेडियममा भएको खेलमा फ्रान्सका एम्बाप्पेले ६०औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसको ६ मिनेटपछि डेम्बेलेले अर्को गोल थप्दै फ्रान्सको जित सुनिश्चित गरे ।

जारी विश्वकपमा एम्बाप्पेले आफ्नो गोलसंख्या ८ पुर्याएका छन्, जुन अर्जेन्टिनाका कप्तान लियोनल मेसीसँग बराबरी हो ।

मोरक्कोले खेलभर संघर्ष गरे पनि फ्रान्सको सुदृढ रक्षापंक्तिलाई तोड्न सकेन । 

खेलमा जित निकालेसँगै फ्रान्सले आफ्नो तेस्रो विश्वकप उपाधि जित्ने अभियानलाई जीवित राखेको छ । 

फ्रान्सले यसअघि १९९८ र २०१८ मा विश्वकप जितेको थियो भने २०२२ को कतार विश्वकपमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा पराजित हुँदै उपविजेतामा सीमित भएको थियो ।

२०२२ को कतार विश्वकपमा सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको मोरक्कोले यसपटक पनि उत्कृष्ट यात्रा तय गर्दै अन्ततः क्वार्टरफाइनलबाट बिदा भयो ।

Share News