काठमाडौं । नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्कापट्टामा भ्रष्टाचार नभएको विशेष अदालतले फैसला गरेको छ ।
विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले बिहीबार (आज) यस्तो फैसला गरेको हो ।
नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल, तत्कालीन प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडीलगायत १८ जना माथि दायर मुद्दामा विशेष अदालतले सबै आरोपितहरूलाई सफाइ दिएको हो ।
नेपाल टेलिकमको बिलिङ प्रणालीको ठेक्का लगाउँदा साढे ३३ करोड रुपैयाँ भ्रष्टाचार भएको भनी दाबी गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।
ठेक्का सम्झौताको सर्तविपरीत ठेकेदारलाई बढी रकम दिएर भ्रष्टाचार गरेको अख्तियारको दाबी थियो ।