काठमाडौं । सप्तरीको राजविराज नगरपालिका–१० विरौलस्थित रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकास कार्य अघि बढ्ने भएको छ ।
सोही क्षेत्रका सांसद तथा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको पहल तथा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहको चासोपछि प्रतिष्ठानका लागि आर्थिक वर्ष २०८३/८४ को बजेटमा समेटिएको थियो ।
त्यसैअन्तर्गत सरकारले रु ५० करोड विनियोजन गरी टे टेन्डर प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।
पूर्वाधार निर्माण कार्य तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ असार २२ गते अनलाइन मार्फत शिलान्यास गरेपछि सुरु गर्ने घोषणा भए पनि पर्यावरण प्रभाव मूल्याङ्कन रिपोर्ट (इआईए) नहुँदा काम रोकिएको थियो ।
हाल उक्त इआईए रिपोर्ट स्वीकृत भएपछि बजेट उपलब्ध गराइ टेन्डर प्रक्रिया अगाडि बढाइएको छ ।
निर्माण सम्पन्न भए राजविराजमा प्रतिष्ठित स्वास्थ्य अध्ययन तथा सेवा केन्द्रको सञ्चालनले सो क्षेत्रको स्वास्थ्य सेवामा गुणात्मक सुधार आउने अपेक्षा गरिएको छ ।
१६ पुस २०७५ मा मन्त्रिपरिषद्ले प्रतिष्ठान स्थापना गर्ने निर्णय गर्दा नगरपालिकाले ३० वर्षका लागि ६२ बिघा जग्गा उपलब्ध गराएको थियो ।