बीमा क्षेत्रमा जोखिममा आधारित पूँजी व्यवस्थामा समयानुकूल सुधार गरिने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा लागू गरिएको जोखिममा आधारित पूँजी (आरबीसी) व्यवस्थाको दुई वर्षे कार्यान्वयनको समीक्षा गर्दै प्राप्त सुझावका आधारमा यसलाई समयानुकूल र व्यावहारिक बनाउँदै लैजाने जनाएको छ ।

प्राधिकरणको केन्द्रीय कार्यालय कुपण्डोलमा बुधबार आयोजित अन्तरक्रिया कार्यक्रममा कार्यकारी निर्देशक सुशील देव सुवेदीले आरबीसी कार्यान्वयन सफलतापूर्वक अघि बढिरहेको भन्दै दुई वर्षको अवधिमा देखिएका सकारात्मक र चुनौतीपूर्ण पक्षबारे खुला छलफल गरी आगामी सुधारका लागि ठोस सुझाव दिन बीमकहरूलाई आग्रह गरे ।

उनले बीमा कम्पनीहरूबाट प्राप्त सुझावका आधारमा जोखिममा आधारित पूँजीसम्बन्धी व्यवस्थालाई समयअनुकूल परिमार्जन गरिने स्पष्ट पारे ।

प्राधिकरणका निर्देशक ध्रुव तिमिल्सिनाले आरबीसी कार्यान्वयन सिकाइ, समीक्षा, मूल्याङ्कन तथा अन्तर्राष्ट्रिय असल अभ्यासका आधारमा निरन्तर सुधार गर्दै प्रभावकारी रूपमा अघि बढाइने बताए ।

कार्यक्रममा उपनिर्देशक निर्मला मल्लले आरबीसी कार्यान्वयनको दुई वर्षे समीक्षा तथा प्रस्तावित परिमार्जनबारे प्रस्तुति दिँदै तथ्याङ्कको गुणस्तर सुधार, प्रणालीको विकास, बीमाङ्कीको क्षमता अभिवृद्धि, संस्थागत जोखिम संस्कृतिको विकास, जोखिम व्यवस्थापन सुदृढीकरण र समयमै प्रतिवेदन पेश गर्नुपर्नेमा जोड दिइन् ।

जीवन बीमक संघ, नेपालका अध्यक्ष प्रवीण रमण पराजुलीले आरबीसी कार्यान्वयनका क्रममा संघले दिएका सुझावलाई प्राधिकरणले समेटेको भन्दै आभार व्यक्त गरे । कार्यक्रममा सहभागीहरूले कार्यान्वयनका अनुभव आदान–प्रदान गर्नुका साथै आरबीसी तथा सोल्भेन्सी निर्देशिकाका विद्यमान र प्रस्तावित व्यवस्थाबारे आफ्ना जिज्ञासा राखेका थिए ।

सोही अवसरमा प्राधिकरणका तथ्याङ्कशास्त्री बसन्त प्रसाद बोहराले यस वर्षदेखि बीमा क्षेत्रका सम्पूर्ण तथ्याङ्क समेटेर वार्षिक प्रकाशन सुरु गरिएको जानकारी दिँदै पहिलो संस्करणका रूपमा ‘इन्स्योरेन्स स्टाटिस्टिकल इयर बुक २०८१/८२’ प्रकाशित गरिएको बताए ।

कार्यक्रममा जीवन, निर्जीवन तथा पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, जोखिम व्यवस्थापन शाखा प्रमुख तथा आरबीसी सम्पर्क व्यक्तिहरूको सहभागिता रहेको थियो ।

Share News