घरेलु उद्योग महासंघको अध्यक्षमा शोभा गुरुङ, नयाँ कार्यसमिति चयन

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघको अध्यक्षमा शोभा गुरुङ निर्विरोध निर्वाचित भएकी छन् । ललितपुरमा सम्पन्न महासंघको २६औँ राष्ट्रिय महाधिवेशन तथा २३औँ राष्ट्रिय महिला उद्यमी सम्मेलनले गुरुङको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको हो ।

यसअघि महासंघको उपाध्यक्ष रहेकी गुरुङले केन्द्रीय महिला उद्यमी समितिको अध्यक्षसहित महासंघका विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेकी छन् । नयाँ नेतृत्वसँगै महासंघले लघु, घरेलु तथा साना उद्योगीको हकहित संरक्षण, उद्यमशीलता प्रवर्द्धन र संगठन विस्तारलाई प्राथमिकतामा राख्ने जनाएको छ ।

महाधिवेशनबाट उमेशप्रसाद सिंह निवर्तमान अध्यक्ष, डम्बरप्रसाद रेग्मी वरिष्ठ उपाध्यक्ष तथा विभिन्न क्षेत्रको प्रतिनिधित्व हुने गरी ११ जना उपाध्यक्ष चयन भएका छन् । महासचिवमा विनोद देव पन्त, कोषाध्यक्षमा वीरेन्द्र जती, सचिवमा प्रेमबहादुर डीसी र सहकोषाध्यक्षमा हेमविक्रम जीसी निर्वाचित भएका छन् ।

त्यस्तै, सातै प्रदेश, खुला, महिला, वस्तुगत, एसोसिएट्स, सहकारी तथा नवीकरणीय ऊर्जा समूहबाट सदस्यहरू चयन गरिएको महासंघले जनाएको छ । महाधिवेशनले केन्द्रीय महिला उद्यमी समितिको अध्यक्षमा पनि रीता अवाललाई निर्वाचित गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा शान्ति शर्मा, महासचिवमा सुलोचना श्रेष्ठ, कोषाध्यक्षमा मिना तामाङ र सचिवमा दीपा शाक्य चयन भएका छन् ।

निर्वाचित अध्यक्ष गुरुङले आफ्नो चयनलाई व्यक्तिगत उपलब्धिभन्दा पनि सम्पूर्ण उद्यमी समुदायले दिएको विश्वासका रूपमा लिएको बताइन् । महासंघलाई अझ प्रभावकारी बनाउँदै देशभर संगठन विस्तार गर्ने, लघु, घरेलु तथा साना उद्योगीलाई आत्मसम्मानका साथ व्यवसाय गर्न सक्ने वातावरण निर्माण गर्ने तथा उद्यमीका साझा मुद्दालाई नीतिगत तहसम्म पुर्याउन सक्रिय रूपमा काम गर्ने उनको प्रतिबद्धता छ ।

उनले उत्पादनमुखी उद्योगको प्रवर्द्धन, उद्यमशीलता विकास, सीप अभिवृद्धि, बजार पहुँच विस्तार र सरकारी निकायसँगको समन्वयलाई आगामी कार्यकालको प्राथमिकतामा राख्ने बताइन् ।

यस्तै, केन्द्रीय महिला उद्यमी समितिकी नवनिर्वाचित अध्यक्ष रीता अवालले महिला उद्यमीको क्षमता अभिवृद्धि, सञ्जाल विस्तार, सुशासन, संस्थागत प्रणाली सुदृढीकरण तथा उद्यमशीलताको प्रवर्द्धनमा टिमवर्कका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । नयाँ नेतृत्वले महासंघको छवि र गरिमालाई थप उचाइमा पुर्याउँदै देशभरका लघु, घरेलु तथा साना उद्योगीको आवाजलाई प्रभावकारी रूपमा उठाउने विश्वास व्यक्त गरेको छ ।

Share News