काठमाडौं । बुधबार प्रधानमन्त्री वालेन्द्र शाह र एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री शाहले अन्तर्राष्ट्रिय दातृ निकायसँग एक्लाएक्लै गरेको यो पहिलो भेटवार्ता हो । यसअघि उनले विभिन्न देशका राजदूतसँग संयुक्त रुपमा छलफल गरेका थिए ।
उक्त भेटमा अध्यक्ष कान्डाले प्रधानमन्त्री शाहलाई बलियो जनमत (स्ट्रङ म्यान्डेट) प्राप्त गरेकोमा बधाईसहित नेपाल सरकारसँग थप प्रभावकारी रुपमा समन्वय हुने प्रतिवद्धता गरेका छन् ।
भेटपछि सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै अध्यक्ष कान्डाले नेपालको आर्थिक रूपान्तरण, रोजगारी सिर्जना र लगानीका लागि प्रधानमन्त्री शाहले अघि सारेका महत्त्वाकांक्षी सुधारका कार्यहरूलाई एडीबीले दृढतापूर्वक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
नेपालको सबैभन्दा ठूलो विकास साझेदारको रूपमा स्थापित हुँदै एडीबीले प्रधानमन्त्रीको ’भिजन’ लाई परिणाममा बदल्न सन् २०२९ सम्ममा थप २.४ बिलियन (हालको विनिमय दरमा ३ खर्ब ६४ अर्ब नेपाली रुपैयाँ) बराबरको थप सहयोग उपलब्ध गराउने घोषणा गरेको छ ।
विगत ६० वर्षदेखि नेपाल र एडीबीले संकट, पुनरुत्थान र प्रगतिका हरेक चरणमा सहकार्य गर्दै सुरक्षित विद्यालय, स्वच्छ ऊर्जा, मजबुत पूर्वाधार र उत्कृष्ट अवसरहरू सिर्जना गर्न योगदान पुर्याउँदै आएको विषय अध्यक्ष कान्डाले उल्लेख गरेका छन् ।
आगामी दिनमा पनि नेपाली जनताका लागि ठोस र दीर्घकालीन प्रगति हासिल गर्न प्रधानमन्त्री शाह र नेपाल सरकारसँग मिलेर नजिकबाट काम गर्न आफू उत्सुक रहेको अध्यक्ष कान्डाले बताएका छन् ।
प्रधानमन्त्री बालेनसँगको भेटबारे एडीबीले प्रेस विज्ञप्ति पनि जारी गरेको छ । भेटका क्रममा अध्यक्ष कान्डाले नेपाल अहिले एक निर्णायक मोडमा रहेको र यहाँ गतिशील एवं उत्थानशील अर्थतन्त्र निर्माण गर्ने ठूलो अवसर रहेको उल्लेख गरेको बताइएको छ । नेपालको सबैभन्दा ठूलो बहुपक्षीय विकास साझेदारको रूपमा रहेको एडीबीले सन् २०२९ सम्म गर्ने २.४ अर्ब अमेरिकी डलर लगानीलाई रोजगारी सिर्जना, व्यवसायको सुदृढीकरण र नेपाली समुदायको जीवनस्तर सुधार गर्नमा प्रयोग हुने उल्लेख गरेको छ ।
सोमबार एडीबीले आफ्नो वार्षिक प्रतिबद्धता अन्तर्गत कुल १६ करोड ५० लाख अमेरिकी डलर बराबरको दुईवटा ऋण सम्झौतामा हस्ताक्षर समेत गरेको छ । यस अन्तर्गत ८ लाख ५० हजारभन्दा बढी मानिसलाई सुरक्षित खानेपानी तथा सरसफाइ सेवा पुर्याउन ११ करोड ५० लाख डलर र सीमापार व्यापार प्रणालीलाई डिजिटलाइजेसन एवं आधुनिकीकरण गरी व्यवसायको लागत घटाउन ५ करोड डलर विनियोजन गरिएको छ ।
साथै, अध्यक्ष कान्डाले एडीबीको सहयोगमा सञ्चालित विभिन्न परियोजनाहरूको स्थलगत निरीक्षण पनि गरेका छन् । उनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ र नर्वेकी राजदूत ड्याग्नी म्योजसँग मिलेर काठमाडौंको विद्युत आपूर्ति सुदृढ गर्ने दुईवटा सबस्टेशनहरूको भर्चुअल उद्घाटन गरेका छन् ।
यस्तै, शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँगै २०१५ को भूकम्पपछि पुनर्निर्माण गरिएको र आधुनिक विज्ञान–प्रविधि सुविधाले सम्पन्न त्रिपुरेश्वरस्थित विश्व निकेतन माविको अवलोकन समेत गरेका छन् ।
भ्रमणकै सिलसिलामा अध्यक्ष कान्डाले अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेट गरी नेपालको आर्थिक सुधार, लगानी परिचालन र सरकारका विकास प्राथमिकताहरूका बारेमा गहन छलफल भएको बताएका छन् ।
उनले नेपालको निजी क्षेत्रका उद्योगी व्यवसायीसँग पनि भेटेर लगानीका अवसर र चुनौतीबारे विचार आदानप्रदान गरेका छन् । एडीबीले आफ्नो सन् २०२५–२०२९ को नेपाल साझेदारी रणनीति अन्तर्गत यो वर्ष वार्षिक कर्जा प्रवाह ६६ करोड डलरसम्म पुर्याउने योजना बनाएको छ ।
आगामी दिनमा दिगो पूर्वाधार, सार्वजनिक सेवा प्रवाह, डिजिटल रूपान्तरण र महिला तथा पिछडिएका वर्गको सशक्तीकरणलाई प्राथमिकता दिँदै हरित बन्ड र स्थानीय मुद्रा बन्ड जस्ता नवीन वित्तीय उपकरणहरू मार्फत थप स्रोत परिचालन गरिने विज्ञप्तिमा उल्लेख छ ।
It was an honor to meet Nepal’s Prime Minister @ShahBalen and congratulate him on the strong mandate he has received.
— Masato Kanda (@ADBPresident) July 7, 2026
I affirmed ADB’s strong commitment to supporting his ambitious reforms towards economic transformation, job creation, and investment. ADB is stepping up as… pic.twitter.com/GxWFAqgway