काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गणराज भट्टले सरकार ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने दिशामा अघि बढिरहेको बताएका छन् । उनले निजी क्षेत्र, सहकारी र सरकारी क्षेत्रलाई सँगसँगै अघि बढाएर अर्थतन्त्रलाई थप चलायमान बनाउने सरकारको नीति रहेको स्पष्ट पारे ।
साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको २५औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष भट्टले साना किसान विकास लघुवित्त वित्तीय संस्था ग्रामीण अर्थतन्त्र सुदृढ गर्न, गरिबी न्यूनीकरण गर्न तथा वास्तविक किसानसँग प्रत्यक्ष काम गर्ने अग्रणी संस्था बनेको बताए ।
उनले संस्थाको प्रभावकारी कामलाई आधार मान्दै अब साना किसान विकास लघुवित्तलाई विशिष्टीकृत संस्था का रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याए । यसबाट किसानको आर्थिक सशक्तीकरण र ग्रामीण विकासमा अझ ठूलो योगदान पुग्ने उनको भनाइ थियो ।
उपाध्यक्ष भट्टले सरकारले साना किसान, कृषि उत्पादन, पूर्वाधार विकास तथा साना उद्यमलाई प्राथमिकतामा राखेर समावेशी आर्थिक रूपान्तरणको अभियान अघि बढाइरहेको बताए। ठूला परियोजनासँगै साना उद्यमीलाई पनि अवसर सिर्जना गरिने उनले उल्लेख गरे ।
कार्यक्रममा संस्थाका अध्यक्ष खेमबहादुर पाठकले सरकारका आर्थिक तथा सामाजिक रूपान्तरणका कार्यक्रमलाई साना किसान अभियानले निरन्तर साथ दिँदै आएको बताए । उनले किसानको उत्पादनलाई बजारसँग जोड्ने प्रभावकारी व्यवस्था गर्न सरकारसँग आग्रह गर्दै उत्पादनसँगै बजार व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने धारणा राखे ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत वासु अधिकारीले संस्थाले महिला, युवा, दलित, जनजाति, राउटे, वनकरीलगायत पछाडि परेका समुदायलाई कृषि उत्पादनमार्फत आर्थिक मूलधारमा जोड्ने काम गरिरहेको जानकारी दिए ।
उनले विश्व अर्थतन्त्रका चुनौतीबीच ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन साना तथा लघु उद्यम प्रवर्द्धन अपरिहार्य रहेको बताए ।
कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने शाखा तथा सहकारी संस्थाहरूलाई नगद र प्रमाणपत्रसहित सम्मान पनि गरिएको थियो ।