काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा राति–राति सडकमा हिँड्ने पैदलयात्रीलाई लुटपाट गर्ने दुई जना व्यक्ति पक्राउ परेका छन् ।
मोटरसाइकलमा आएर लुटपाट गर्ने ३० वर्षीय अंकितराज गिरी र ३५ वर्षीय रोमन तामाङ पक्राउ परेका हुन् ।
जडिबुटीबाट पेप्सीकोलातर्फ जाँदै गरेका एक पैदल यात्रीलाई उनीहरूले कुटपिट गरेर लुटपाट गरेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सन्तोष खड्काले जानकारी दिए ।
उनका अनुसार उनीहरूले कुटपिट गरी सुनको मुन्द्रा, नगद र मोबाइलसमेत लुटपाट गरेर फरार भएका थिए ।
घटनाको अनुसन्धान गर्ने क्रममा कार्यालयबाट खटी गएको प्रहरी टोलीले उक्त घटनामा संलग्न व्यक्तिहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको खड्काले जानकारी दिए ।