तेस्रो त्रैमासमा नेपालको अर्थतन्त्र ३.५१ प्रतिशतले बढ्ने प्रक्षेपण

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा नेपालको अर्थतन्त्र ३.५१ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार सार्वजनिक गरेको त्रैमासिक राष्ट्रिय लेखा तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) आधारभूत मूल्यमा ३.५१ प्रतिशतले वृद्धि हुने देखिएको हो ।

कार्यालयका अनुसार यो वृद्धि मुख्यतः विद्युत उत्पादन तथा वितरण, निक्षेप संकलन तथा ऋण प्रवाह, निर्जीवन बिमा प्रिमियम संकलन, व्यापार सेवा लगायतका क्षेत्रमा भएको विस्तारका कारण सम्भव भएको हो । तेस्रो त्रैमासमा समेटिएका १८ औद्योगिक वर्गीकरणमध्ये सार्वजनिक प्रशासन तथा रक्षा र औद्योगिक उत्पादन बाहेक बाँकी अधिकांश क्षेत्रमा सकारात्मक वृद्धिदर देखिएको छ ।

मौसमी प्रभाव समायोजन नगरिएको तथ्याङ्कअनुसार विद्युत तथा ग्याससम्बन्धी क्रियाकलापमा सबैभन्दा उच्च २४.८८ प्रतिशत वृद्धिदर देखिएको छ । त्यसपछि वित्तीय तथा बिमासम्बन्धी क्रियाकलापमा १०.२७ प्रतिशत, यातायात तथा भण्डारणमा ७.८३ प्रतिशत र थोक तथा खुद्रा व्यापारमा ५.२५ प्रतिशत वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ ।

null

अर्थतन्त्रमा सबैभन्दा ठूलो योगदान रहेको कृषि क्षेत्रको वृद्धिदर १.५८ प्रतिशत रहने अनुमान छ । धान उत्पादनमा कमी आए पनि पशुपन्छी, तरकारी, फलफूल तथा वनपैदावारको उत्पादनमा भएको सामान्य वृद्धिले कृषि क्षेत्रको कुल मूल्य अभिवृद्धिमा सकारात्मक प्रभाव पारेको कार्यालयले जनाएको छ। त्यस्तै, अर्थतन्त्रको दोस्रो ठूलो हिस्सा ओगटेको थोक तथा खुद्रा व्यापार क्षेत्र ५.२५ प्रतिशतले बढ्ने देखिएको छ । व्यापारजन्य वस्तुको स्वदेशी उत्पादन तथा आयातमा भएको वृद्धिले यस क्षेत्रमा सुधार आएको जनाइएको छ ।

यद्यपि, सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रमा १.५९ प्रतिशत र औद्योगिक उत्पादनमा ०.५४ प्रतिशतले ऋणात्मक वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ । निर्माण सामग्रीको आयातमा कमी, धानबाली उत्पादनमा गिरावट तथा केही वस्तुको घरेलु उत्पादनमा आएको कमीका कारण समग्र त्रैमासिक वृद्धिदर सामान्य स्तरमा सीमित भएको कार्यालयको भनाइ छ ।

मौसमी प्रभाव समायोजित तथ्याङ्कअनुसार भने चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासको तुलनामा तेस्रो त्रैमासमा अर्थतन्त्र ०.५८ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । यस अवधिमा १८ औद्योगिक वर्गीकरणमध्ये ११ वटामा सकारात्मक र सात वटामा ऋणात्मक वृद्धिदर देखिएको छ ।

null

मौसमी प्रभाव समायोजित तथ्याङ्कमा पनि विद्युत तथा ग्यास क्षेत्र ६.८७ प्रतिशत वृद्धिसहित अगाडि देखिएको छ । त्यसपछि खानी तथा उत्खनन २.२३ प्रतिशत र थोक तथा खुद्रा व्यापार २.०२ प्रतिशतले बढेको अनुमान गरिएको छ। अर्कोतर्फ, आवास तथा भोजन, औद्योगिक उत्पादन र केही अन्य क्षेत्रमा भने गिरावट देखिएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक वर्ष २०६७/६८ लाई आधार वर्ष मानेर त्रैमासिक राष्ट्रिय लेखाका अनुमान तयार गर्दै आएको छ । कार्यालयले प्रत्येक त्रैमास समाप्त भएको ९० दिनभित्र यस्तो अनुमान सार्वजनिक गर्ने अभ्यासअनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमासको विवरण सार्वजनिक गरेको हो ।

Share News