कांग्रेसको प्रश्न : प्रधानमन्त्रीको सुन आर्जनको स्रोत के हो ?

काठमाडाैं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को सम्पत्तिको स्रोतमाथि प्रश्न गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सम्पत्तिको स्रोत खुलाउनु सबैको दायित्व भएको उल्लेख गर्दै बालेनकाे सम्पत्ति र सुनकाे स्राेत खाेज्नुपर्ने धारणा राखे ।

उनले छानबिन आफूबाटै सुरु गर्न पनि तयार रहेको बताए । 'मबाटै सम्पत्तिको छानबिन सुरु होस् । मेरो घर पाँचथर हो । सुरु प्रधानमन्त्री र प्रतिपक्ष दलको नेताबाट गरियोस्,' उनले भने ।

आङ्देम्बेले प्रधानमन्त्रीले आर्जन गरेको सम्पत्ति वैध स्रोतबाट भएको हुनुपर्ने कामना गर्दै ठूलो परिमाणमा रहेको सुनको स्रोतबारे प्रश्न उठाए ।  उनले पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री तथा सार्वजनिक पदमा रहेकाहरूको सम्पत्तिमाथि पनि निष्पक्ष छानबिन गर्नुपर्ने धारणा राखे ।

सरकारले सुशासन, भ्रष्टाचार नियन्त्रण तथा सेवा प्रवाहका केही क्षेत्रमा सुधारका प्रयास गरेको स्वीकार गर्दै उनले प्रधानमन्त्री संसदप्रति अझ बढी उत्तरदायी हुनुपर्ने बताए । प्रधानमन्त्री संसदमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिनुपर्ने दायित्व रहेको उनको भनाइ थियो ।

प्रधानमन्त्री संसदमा उपस्थित हुनुभन्दा सामाजिक सञ्जालमा बढी सक्रिय देखिनु संसदको अवमूल्यन भएको उनको टिप्पणी थियो । उनले  प्रख्यात हुनु र लोकप्रिय हुनु फरक कुरा हो भन्दै भाइरल हुने प्रवृत्तिभन्दा जिम्मेवार नेतृत्व प्रदर्शन गर्न प्रधानमन्त्रीलाई आग्रह गरे ।

आङ्देम्बेले लोकतान्त्रिक अभ्यासमा प्रतिपक्ष दलको नेताले सम्बोधन गर्दा प्रधानमन्त्री संसदमा उपस्थित हुनु सामान्य परम्परा भए पनि नेपालमा त्यसो नहुनु आश्चर्यजनक रहेको बताए । 

Share News