काठमाडौं । सहआयोजक क्यानडालाई ३-० ले पराजित गर्दै मोरक्को फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
अमेरिकाको ह्युस्टन स्टेडियममा सम्पन्न राउन्ड अफ १६ को खेलमा मोरक्कोलाई जित दिलाउन अज्जेदिन ओउनाहीले दुई गोल गरे भने सुफियान रहिमीले एक गोल थपे ।
खेलको ५०औं मिनेटमा कप्तान अच्राफ हाकिमीको असिस्टमा ओउनाहीले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका थिए । त्यसपछि ८२औं मिनेटमा ओउनाहीले व्यक्तिगत दोस्रो गोल गर्दै मोरक्कोको अग्रता दोब्बर बनाए ।
दोस्रो हाफको इन्जुरी समयको अन्तिम मिनेटमा रहिमीले गोल थपेपछि मोरक्को ३-० को सहज जितसहित अन्तिम आठमा पुगेको हो ।
खेलमा क्यानडाले मोरक्कोभन्दा बढी प्रहार गरे पनि गोल गर्न सकेन । बल पोसेसनमा भने मोरक्को हाबी रह्यो ।
सातौं पटक विश्वकप खेलिरहेको मोरक्को दोस्रो पटक क्वार्टरफाइनलमा पुगेको हो । यसअघि उसले सन् २०२२ को विश्वकपमा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । साथै, दुई पटक विश्वकप क्वार्टरफाइनल पुग्ने मोरक्को पहिलो अफ्रिकी टोलीसमेत बनेको छ ।
पहिलो पटक नकआउट चरणमा पुगेको क्यानडा भने यस हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ । क्यानडा विश्वकपबाट बाहिरिने पहिलो आयोजक राष्ट्र बनेको छ । अन्य आयोजक राष्ट्र अमेरिका र मेक्सिकोको क्वार्टरफाइनल पुग्ने सम्भावना भने कायम छ ।
