काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को उच्चस्तरीय प्रतिनिधिमण्डलले नेपाल भ्रमणका क्रममा सरकारका उच्च अधिकारी, सांसद तथा विभिन्न सरोकारवालासँग नेपालको अर्थतन्त्र, सुधारका प्राथमिकता र दिगो आर्थिक वृद्धिबारे छलफल गरेको छ ।
आईएमएफको एसिया तथा प्रशान्त विभागकी उपनिर्देशक डा. सोनाली जैन–चन्द्रको नेतृत्वमा नेपाल भ्रमणमा आएको टोलीमा नेपालका लागि आईएमएफ मिसन प्रमुख डा. सरवत जहाँ र नेपालस्थित आवासीय प्रतिनिधि प्रणव गुप्ता सहभागी थिए ।
प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टसँग भेट गरी पछिल्लो आर्थिक अवस्था, समष्टिगत आर्थिक परिदृश्य, दिगो आर्थिक वृद्धि, रोजगारी सिर्जना तथा आर्थिक सुधारका प्राथमिकताबारे छलफल गरेको हो ।
भ्रमणका क्रममा टोलीले प्रतिनिधिसभाको अर्थ समितिका सदस्यहरूसँग पनि अन्तरक्रियात्मक छलफल गरेको थियो । उक्त अवसरमा आईएमएफले नेपालसँगको सहकार्य, हालै सम्पन्न विस्तारित कर्जा सुविधा (ईसीएफ) कार्यक्रम तथा समष्टिगत र संरचनागत आर्थिक नीतिबारे जानकारी गराएको थियो । सांसदहरूले पनि नेपालको आर्थिक प्राथमिकता तथा सुधारका विषयमा आफ्ना धारणा, सुझाव र चासो राखेका थिए ।
भ्रमणको समापनमा आईएमएफकी उपनिर्देशक डा. जैन–चन्द्रले नेपाल सरकार र अन्य सरोकारवालाबाट प्राप्त आतिथ्यप्रति आभार व्यक्त गर्दै अर्थमन्त्री, गभर्नर, योजना आयोगका उपाध्यक्ष, अर्थ समितिका सदस्य तथा अन्य सरोकारवालासँग भएका छलफल उपयोगी, दूरदर्शी र जानकारीमूलक रहेको बताइन् ।
उनले नेपालको आर्थिक विकास र सुधारका प्रयासमा आईएमएफले आगामी दिनमा पनि नजिकबाट सहकार्य र संवादलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन् ।
प्रतिनिधिमण्डलले भ्रमणका क्रममा विभिन्न थिंक ट्यांक, नागरिक समाज, शैक्षिक क्षेत्र तथा ‘जेन–जेड’ समुदायका प्रतिनिधिसँग पनि छलफल गरेको थियो ।
आईएमएफले सन् १९६१ देखि नेपालसँग कायम सहकार्यलाई निरन्तरता दिँदै दिगो, समावेशी र सुधारमुखी आर्थिक विकासमा सहयोग गर्ने आफ्नो प्रतिबद्धता पुनः दोहोराएको छ ।