अर्जेन्टिनाको संघर्षपूर्ण जित, काबो भेर्डेलाई हराउँदै अन्तिम १६ मा प्रवेश

काठमाडौं । साबिक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को अन्तिम ३२ अन्तर्गत भएको रोमाञ्चक खेलमा डेब्यु टोली काबो भेर्डेलाई अतिरिक्त समयमा ३-२ ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ । निर्धारित ९० मिनेट १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । 

मियामीस्थित हार्ड रक स्टेडियममा भएको खेलमा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले २९औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफको ५९औं मिनेटमा डेरोय डुआर्टेले गोल फर्काउँदै काबो भेर्डेलाई खेलमा फर्काए ।

अतिरिक्त समयको ९२औँ मिनेटमा लिसान्द्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई पुनः अग्रता दिलाए । तर काबो भेर्डेले हार नमानी १०३औँ मिनेटमा सिड्नी लोपेस काब्रालमार्फत बराबरी गोल गर्यो । 

खेल पेनाल्टी सुटआउटतर्फ जाने संकेत देखिइरहेका बेला १११औँ मिनेटमा डिनेले आत्मघाती गोल गरेपछि अर्जेन्टिनाले ३–२ को निर्णायक अग्रता बनायो र त्यसैलाई कायम राख्दै जित हात पार्यो ।

विश्व वरीयतामा निकै पछि रहेको काबो भेर्डेले साबिक विश्वविजेतालाई अन्तिम क्षणसम्म कडा चुनौती दिँदै प्रतियोगितामा आफ्नो प्रभावशाली प्रदर्शन जारी राख्यो ।

यो जितसँगै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेको छ, जहाँ उसले इजिप्टसँग प्रतिस्पर्धा गर्नेछ ।

Share News