काठमाडौं । पोर्चुगलले फिफा विश्वकप २०२६ को अन्तिम ३२ चरणमा क्रोएसियालाई २–१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको छ ।
टोरन्टोस्थित बीएमओ फिल्डमा आज बिहान सम्पन्न रोमाञ्चक खेलमा पोर्चुगलले इन्जुरी समयमा विजयी गोल गर्दै नकआउट चरण पार गरेको हो ।
खेलको ५३औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । त्यसपछि पोर्चुगलले लगातार दबाब सिर्जना गर्यो । ६८औं मिनेटमा भीएआरमार्फत पेनाल्टी पाएपछि कप्तान क्रिस्टियानो रोनाल्डोले उत्कृष्ट फिनिस गर्दै खेल १–१ को बराबरीमा ल्याए।
खेल अतिरिक्त समयमा पुग्ने निश्चितजस्तै देखिएको अवस्थामा ९०ं४औं मिनेटमा गोन्सालो रामोसले राफाएल लेआओको आकर्षक क्रसलाई हेडमार्फत गोलमा परिणत गर्दै पोर्चुगललाई २–१ को रोमाञ्चक जित दिलाए ।
क्रोएसियाले बराबरी गोलका लागि अन्तिम समयसम्म संघर्ष गरे पनि पोर्चुगलका गोलरक्षक डियोगो कोस्टाले केही महत्वपूर्ण बचाउ गर्दै टोलीको अग्रता जोगाए । खेलभर दुवै टोलीबीच कडा प्रतिस्पर्धा देखिएको थियो भने भीएआरका निर्णयले पनि खेललाई थप रोमाञ्चक बनाएको थियो ।
यो जितसँगै पोर्चुगलले अन्तिम १६ मा स्थान बनाएको छ, जहाँ उसले स्पेनसँग प्रतिस्पर्धा गर्नेछ । स्पेनले यसअघि अस्ट्रियालाई ३–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको थियो ।
युरोपका दुई शक्तिशाली टोलीबीचको यो भिडन्त विश्वकपको सबैभन्दा प्रतीक्षित खेलमध्ये एक हुने फुटबल विश्लेषकहरूको आँकलन छ ।