काठमाडौं । आयोजक राष्ट्र मेक्सिकोले फिफा विश्वकप २०२६ को अन्तिम ३२ चरणमा इक्वेडरलाई २–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ ।
मेक्सिको सिटी स्टेडियममा बुधबार बिहान भएको खेलमा घरेलु टोलीका लागि जुलियन किन्योनेस र राउल जिमेनेजले एक–एक गोल गरे । खेल सुरु हुनुअघि खराब मौसमका कारण केही समय ढिलाइ भए पनि त्यसले मेक्सिकोको लयमा कुनै असर पारेन ।
मेक्सिकोले पहिलो हाफमै खेल आफ्नो नियन्त्रणमा लिएको थियो । जुलियन किन्योनेसले उत्कृष्ट व्यक्तिगत प्रयासमा पहिलो गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए । त्यसको केही समयपछि इक्वेडरका डिफेन्डरको गल्तीको फाइदा उठाउँदै अनुभवी फरवार्ड राउल जिमेनेजले दोस्रो गोल गरेपछि मेक्सिको २–० ले अघि बढ्यो ।
दोस्रो हाफमा इक्वेडरले खेलमा फर्कने प्रयास गरे पनि मेक्सिकोको सुदृढ रक्षापङ्क्ति र गोलरक्षकले कुनै अवसर सफल हुन दिएनन् । इक्वेडरका जोन येबोहको प्रहार पोस्टमा लागेर फर्किएको थियो भने इन्जुरी समयमा पिएरो हिन्कापिए रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भएको थियो ।
समूह चरणका तीनै खेलमा अपराजित रहँदै नकआउट पुगेको मेक्सिकोले अन्तिम ३२ मा पनि प्रभावशाली प्रदर्शनलाई निरन्तरता दिँदै लगातार चौथो जित र चौथो क्लिनसिट दर्ता गर्यो । घरेलु समर्थकको साथमा मेक्सिकोले खेलभर उत्कृष्ट लय कायम राख्दै अन्तिम १६ को यात्रा तय गरेको हो ।
यस जितसँगै मेक्सिकोले अन्तिम १६ मा स्थान बनाएको छ। अब उसले इङ्ग्ल्यान्ड र डीआर कङ्गोबीच हुने अन्तिम ३२ चरणको खेलको विजेतासँग क्वार्टरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।