काठमाडौं । फिफा विश्वकप २०२६ मा नर्वेले इतिहास रच्दै पहिलो पटक विश्वकपको नकआउट चरणमा जित हात पारेको छ । मंगलबार अमेरिकाको डलास स्टेडियममा भएको अन्तिम ३२ को प्रतिस्पर्धामा नर्वेले अफ्रिकी टोली आइभरी कोस्टलाई २–१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो ।
नर्वेका लागि पहिलो गोल एन्टोनियो नुसाले ३९औं मिनेटमा उत्कृष्ट व्यक्तिगत प्रयासमार्फत गरे । पहिलो हाफमा अग्रता बनाए पनि दोस्रो हाफमा आइभरी कोस्टले खेलमा शानदार पुनरागमन गर्यो । दोस्रो हाफमा मैदान प्रवेश गरेका अमाद डियालोले ७४औं मिनेटमा बराबरी गोल गर्दै खेललाई रोमाञ्चक बनाएका थिए ।
खेल अतिरिक्त समयमा पुग्ने संकेत देखिइरहेका बेला स्टार फरवार्ड एर्लिङ हालान्डले ८६औं मिनेटमा निर्णायक गोल गर्दै नर्वेलाई ऐतिहासिक जित दिलाए । प्याट्रिक बर्गको लो–क्रसलाई उनले सहज रूपमा जाली चुमाएका थिए । यो जारी विश्वकपमा हालान्डको पाँचौं गोल पनि हो ।
आइभरी कोस्टले उत्कृष्ट प्रदर्शन गरे पनि निर्णायक क्षणमा अवसरको सदुपयोग गर्न नसक्दा प्रतियोगिताबाट बाहिरिन बाध्य भयो । बराबरी गोल गरेपछि पनि रक्षापंक्तिमा आएको सानो कमजोरी नर्वेले पूरा उपयोग गर्दै अन्तिम १६ को यात्रा तय गर्यो ।
यो जितसँगै नर्वेले विश्वकप इतिहासमै पहिलो पटक नकआउट चरणको खेल जित्ने कीर्तिमान बनाएको छ । अब नर्वेले अन्तिम १६ मा पाँच पटकको विश्व विजेता ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ ।
