पौडेलको रिटमा भट्टको सक्कल मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलको बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले मिसिल झिकाउन आदेश दिएको छ । 

मंगलबार सर्वोच्चका न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र मेघराज पोखरेलको संयुक्त इजलासले मिसिल झिकाउन आदेश दिएको हो । 

सर्वोच्चले पौडेल जोडिएको विशेष अदालतमा विचाराधीन सुलभ अग्रवाल र दिपक भट्ट प्रतिवादी रहेको सम्पत्ति शुद्धीकरण मुद्दाको सक्कलै मिसिल झिकाउन भनेको हो ।

पौडेलविरुद्ध सोही अभियोग अन्तर्गत पुरक अभियोग लैजाने गरी अनुसन्धान भइरहेकाले सर्वोच्चले मूल मिसिल माग गरेको हो । पौडेलका कानुन व्यवसायीले भने मूल मुद्दामा विष्णु पौडेलका विरुद्धमा कुनै पनि कसुर नदेखिने दाबी गरेका छन् । 

उनीहरूको दाबीपछि सर्वोच्चले उक्त मिसिल झिकाउँदै बिहीबारका लागि अर्को पेसी तोकेको छ । पौडेललाई गैरकानुनी थुनामा राखेको भन्दै उनकी पत्नी दोमाया पौडेलले असार १० गते बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । उनले थुनामुक्त गर्न आदेश माग गरेकी थिइन् । 

यसअघि असार ११ गतेको सुनुवाइमा न्यायाधीश श्रीकान्त पौडेलको इजलासले कारण देखाउ आदेश दिएको थियो ।  सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरेको थियो।

उनीविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान भइरहेको छ । पौडेल अहिले ललितपुरको पुल्चोक प्रहरी प्रभागको हिरासतमा छन् ।

Share News