राराको मुर्माटपमा पुग्यो फोरजी, पर्यटकले अब हाईस्पिड इन्टरनेट पाउने

काठमाडौं । नेपाल टेलिकमले मुगुको प्रसिद्ध पर्यटकीय गन्तव्य मुर्माटपमा फोरजी मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीका अनुसार असार १५ गतेदेखि उक्त क्षेत्रमा फोरजी सेवा औपचारिक रूपमा सुरु गरिएको हो ।

रारा राष्ट्रिय निकुञ्जभित्र रहेको मुर्माटप रारातालको मनोरम दृश्य अवलोकनका लागि लोकप्रिय गन्तव्य हो । रारातालबाट केही घण्टाको पदयात्रापछि पुगिने यस स्थानबाट राराताल, हिमशृंखला तथा कर्णाली र सुदूरपश्चिमका प्राकृतिक दृश्य अवलोकन गर्न सकिन्छ ।

नेपाल टेलिकमका अनुसार फोरजी सेवा विस्तारसँगै पर्यटक, स्थानीय बासिन्दा तथा पदयात्रीले उच्च गतिको मोबाइल इन्टरनेट सहज रूपमा प्रयोग गर्न सक्नेछन् । यसले मुर्माटप क्षेत्रसँगै ट्रेकिङ मार्गमा पनि भरपर्दो सञ्चार सुविधा उपलब्ध गराउने विश्वास कम्पनीको छ ।

सेवा सञ्चालनपछि पर्यटकले आफ्नो यात्रा अनुभव, तस्बिर, भिडियो तथा लाइभ अपडेट सामाजिक सञ्जालमार्फत तत्कालै साझा गर्न सक्नेछन् । साथै स्थानीय होटल, होमस्टे र व्यवसायीले पनि डिजिटल सेवाको प्रयोग सहज रूपमा गर्न पाउने भएकाले पर्यटन तथा स्थानीय आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

नेपाल टेलिकमले जडान गरेको नयाँ टावरले मुर्माटपमा मात्रै सेवा नदिई हुम्ला, बाजुरा लगायतका दुर्गम हिमाली क्षेत्रमा दूरसञ्चार सेवा विस्तारका लागि रिपिटर स्टेशनका रूपमा पनि काम गर्ने कम्पनीले जनाएको छ । यसबाट कर्णाली र सुदूरपश्चिम प्रदेशमा मोबाइल तथा डाटा सेवाको गुणस्तर र पहुँच थप सुदृढ हुने अपेक्षा गरिएको छ ।

कम्पनीले ‘राष्ट्रको सञ्चार’ अभियानअन्तर्गत दुर्गम क्षेत्रसम्म आधुनिक दूरसञ्चार सेवा विस्तार गर्ने प्रतिबद्धता दोहोर्याउँदै आगामी दिनमा पनि सेवाको पहुँच, गुणस्तर र विश्वसनीयता अभिवृद्धि गर्दै डिजिटल नेपालको लक्ष्यलाई सघाउने जनाएको छ ।

नेपाल टेलिकमले यसअघि २०७६ मंसिर १९ गतेदेखि राराताल क्षेत्रमा फोरजी सेवा पूर्ण क्षमतामा सञ्चालनमा ल्याइसकेको थियो ।  

Share News