मेडिकल कलेजको बेतिथिको निगरानी र कारबाही गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले मेडिकल क्षेत्रमा देखिएको बेतिथि र अनियमितता अन्त्य गर्दै यस क्षेत्रलाई थप जिम्मेवार र व्यवस्थित बनाउन कडा कदम चाल्ने भएको छ ।

मेडिकल कलेजको निरीक्षणका बेला मात्रै फ्याकल्टीका रूपमा उपस्थित हुने तथाकथित ‘खडेबाबा’ अर्थात् ‘घोस्ट फ्याकल्टी’ विरुद्ध सरकारले कडा कारबाहीको तयारी गरेको हो । शिक्षामन्त्रीको निर्देशनअनुसार अनियमितता तथा बेतिथिमा संलग्न मेडिकल कलेजको निगरानी बढाउँदै दोषीमाथि कारबाही गर्ने तयारी गरिएको छ ।

स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा अस्पताल तथा चिकित्सकबाट लापरबाही भएको सम्बन्धमा प्राप्त विशेष सूचनाका आधारमा सरकारले बेतिथि अन्त्य गर्न नयाँ कदम चाल्न लागेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सम्बन्धित सरकारी तथा नियामक निकायले देशभरका मेडिकल कलेजमा कार्यरत फ्याकल्टीहरूको विवरणमाथि सूक्ष्म निगरानी सुरु गर्ने भएका छन् । फ्याकल्टीको नियुक्ति, नियमित उपस्थिति, अध्यापन, अस्पतालमा प्रदान गर्ने सेवा तथा निरीक्षणका क्रममा पेश गरिएका विवरणसमेत जाँचको दायरामा ल्याइनेछ ।

वास्तविक रूपमा अध्यापन वा स्वास्थ्य सेवा प्रदान नगरी निरीक्षणका लागि मात्रै आफ्नो नाम, उपस्थिति वा कागजात प्रयोग गर्न दिएको प्रमाणित भएमा सम्बन्धित चिकित्सकमाथि समेत कारबाही गरिने स्रोतले जनाएको छ । गम्भीर प्रकृतिको संलग्नता प्रमाणित भए नेपाल मेडिकल काउन्सिलको लाइसेन्स निलम्बनदेखि खारेजीसम्मको प्रक्रिया अघि बढ्न सक्ने बताइएको छ । विद्यार्थी तथा अन्य सरोकारवालाबाट प्राप्त सूचना, फोटो, भिडियोलगायत प्रमाणसमेत अध्ययन गरिनेछ ।

मन्त्रालयले अब कागजमा मात्रै नभई कक्षामा वास्तविक फ्याकल्टी हुनुपर्नेमा जोड दिएको छ । मेडिकल कलेजले ‘खडेबाबा’ प्रयोग गरेर सिट संख्या वा मान्यता प्रभावित गर्ने अभ्यास गरेको प्रमाणित भएमा त्यसमा संलग्न सबैलाई जवाफदेही बनाइने मन्त्रालयको भनाइ छ ।

हालै बसेको चिकित्सा शिक्षा आयोगको बैठकमा समेत मेडिकल कलेजमा हुने यस्ता बेतिथिको विषय उठेको थियो । बैठकमा आयोगका उपाध्यक्ष प्रा.डा. देवेन्द्र खत्रीले यस्ता गतिविधिमा संलग्न अस्पताल तथा चिकित्सकप्रति कडाइ गर्नुपर्ने धारणा राखेका थिए ।  यस विषयमा शिक्षा मन्त्रालयले समेत मन्त्रालयमा प्राप्त गुनासोलाई आधार बनाउँदै सम्बन्धित सरोकारवालासँग छलफल तथा अन्तरक्रिया गरिसकेको जनाएको छ । 

अब मेडिकल कलेजमा फ्याकल्टीको वास्तविक उपस्थिति र जिम्मेवारी सुनिश्चित गर्न अनुगमन तथा कारबाही प्रक्रियालाई थप प्रभावकारी बनाउने तयारी गरिएको छ । 

Share News