काठमाडौं । संघीय संसद् सचिवालयले प्रतिनिधिसभाका सांसदहरूका लागि संसदीय प्रक्रिया, अभ्यास र नियमसम्बन्धी अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सुरु गरेको छ ।
संसद् भवनस्थित सभा हलमा सञ्चालन भइरहेको उक्त प्रशिक्षण कार्यक्रम भोलिसम्म जारी रहने सचिवालयले जनाएको छ । संसद् सचिवालयअन्तर्गतको संसदीय प्रशिक्षण शाखाले सञ्चालन गरेको कार्यक्रममा सांसदहरूलाई संसदीय कार्यप्रणाली, विधेयकसम्बन्धी प्रक्रिया, बैठक सञ्चालन, नियमावलीको प्रयोग तथा संसदीय अभ्यासका विविध पक्षबारे जानकारी गराइने प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
हालै निर्वाचित सांसदहरूलाई संसदीय प्रक्रिया, नियम र अभ्यासबारे पर्याप्त जानकारीको अभाव देखिएकोले तालीमको व्यवस्था गरीएको प्रवक्ता गिरीले जानकारी दिए । गिरीका अनुसार त्यसको प्रभाव सदनको कार्यसम्पादन र बहसमा समेत परेको टिप्पणी भइरहेका बेला सचिवालयले यो प्रशिक्षण आयोजना गरेको हो ।
प्रवक्ता गिरीका अनुसार प्रशिक्षणले सांसदहरूको संसदीय क्षमता अभिवृद्धि गर्नुका साथै सदनलाई थप प्रभावकारी, व्यवस्थित र मर्यादित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
प्रशिक्षणमा संसदीय अभ्याससँग सम्बन्धित व्यवहारिक पक्ष, संसदीय मर्यादा तथा विधायिकी भूमिकालाई प्रभावकारी ढंगले निर्वाह गर्ने विषयमा साँसदहरुलाई तालीम दिइनेछ ।