कहिले घट्छ इन्धनको मूल्य ?

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य युद्धअघिकै स्तरमा झरेको छ । अमेरिका-इरानबीच तनाव कम भएसँगै तेल आपूर्ति बढेको छ र विश्व बजारमा मूल्य ओरालो लागेको छ । तर, नेपाली उपभोक्ताले भने यसको राहत तत्काल पाउने अवस्था छैन ।

नेपाल आयल निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल सस्तो हुँदैमा नेपालमा भोलिपल्टै पेट्रोल-डिजेलको मूल्य घट्दैन । नेपालले भारतको इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट इन्धन खरिद गर्ने भएकाले त्यहाँबाट आउने नयाँ मूल्यसूची नै अन्तिम आधार हुने निगमको भनाइ छ ।

निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार आईओसीले प्रत्येक महिनाको १ र १६ तारिखबाट लागू हुने गरी मूल्य पठाउने भएकाले त्यसअघि मूल्य समायोजन सम्भव हुँदैन । 

‘विश्व बजारमा क्रुड आयल घट्यो भन्दैमा तुरुन्तै नेपालमा मूल्य घट्ने होइन । हामीले आईओसीले पठाएको मूल्यका आधारमा मात्रै निर्णय गर्न सक्छौं,’ उनले भने । 

निगमले खाना पकाउने एलपी ग्यासमा अझै पनि प्रतिसिलिन्डर करिब ११७४ रुपैयाँ घाटा व्यहोर्दै आएको जनाएको छ । अहिले २१६० रुपैयाँमा बिक्री भइरहेको ग्यासको वास्तविक लागत करिब ३४०० रुपैयाँ पुग्ने निगमको दाबी छ ।

त्यसैले पेट्रोल र डिजेलमा आएको केही नाफाले ग्यासको घाटा धान्नुपर्ने अवस्था रहेकाले मूल्य घटाउने निर्णय सहज नहुने निगमको तर्क छ । 

निगमका अनुसार हाल देशभर दैनिक पेट्रोलको खपत २ हजारदेखि २ हजार ५ सय किलोलिटर र डिजेलको खपत ४ हजारदेखि ४ हजार ५ सय किलोलिटर रहेको छ । काठमाडौं उपत्यकामा मात्रै दैनिक ७००/७५० किलोलिटर पेट्रोल र करिब ७०० किलोलिटर डिजेल खपत हुने गरेको छ ।

ठाकुरका अनुसार अन्तर्राष्ट्रिय बजारमा केही रिफाइनरीहरूमा देखिएको समस्याका कारण प्रशोधित इन्धनको उत्पादन सीमित भएको छ । विशेषगरी डिजेलको माग पेट्रोलको तुलनामा बढी रहेकाले कच्चा तेलको मूल्य घटेको अनुपातमा प्रशोधित इन्धनको मूल्य घट्न नसकेको उनले बताए ।

निगमले इन्धनको खुद्रा मूल्य निर्धारण गर्दा भारतीय आयल कर्पोरेसन (आईओसी) लाई तिर्नुपर्ने खरिद मूल्य, सरकारले लिने कर तथा राजस्व, ढुवानी खर्च, निगमको सञ्चालन खर्च, बिक्रेताको खर्च र मुनाफालगायतका आधारलाई समेटेर मूल्य तय गर्ने गरेको जनाएको छ ।

यस कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटे पनि त्यसको प्रभाव नेपाली बजारमा तत्काल नदेखिने र प्रशोधित इन्धनको खरिद मूल्यमा आएको परिवर्तनपछि मात्रै खुद्रा मूल्य समायोजन हुने निगमको भनाइ छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भने अन्तर्राष्ट्रिय बजारमा आएको गिरावट उपभोक्तासम्म पु¥याउने तयारी भइरहेको जनाएको छ ।

निगमका अनुसार अहिले पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर २१४ रुपैयाँ ५० पैसा, दोस्रो २१६ रुपैयाँ तथा तेस्रो वर्गका लागि २१७ रुपैयाँ कायम गरेको छ । 

त्यस्तै, डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा प्रतिलिटर २१६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा २२४ रुपैयाँ र तेस्रो वर्गमा २२५ रुपैयाँ कायम छ । निगमले ढुवानी दुरी र क्षेत्रका आधारमा विभिन्न ठाउँहरूलाई तीन वर्गमा विभाजन गरेको छ । 

जसअनुसार पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पर्दछन् भने दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङ रहेका छन् । त्यस्तै, तेस्रो वर्ग अन्तर्गत काठमाडौं, पोखरा र दिपायल पर्दछन् । 

मन्त्रालयका प्रवक्ता नेत्र भुसालका अनुसार १५/१५ दिनमा हुने बोर्ड बैठकमा अन्तर्राष्ट्रिय मूल्य, निगमको आर्थिक अवस्था र उपभोक्ताको हितलाई हेरेर मूल्य पुनरावलोकन गरिन्छ । 

उनले स्वचालित मूल्य प्रणालीलाई अझ प्रभावकारी बनाउने विषयमा पनि मन्त्रालयले काम गरिरहेको जानकारी दिए । ‘अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेर आउँदा र निगमको घाटा बिस्तारै कभर हुँदै गएपछि मूल्य घटाउने नै सरकारको नीति हो,’ भुसालले भने । 

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनका पूर्ववरिष्ठ उपाध्यक्ष तथा पेट्रोलियम व्यवसायी गुणराज निरौलाले भने नेपालमा इन्धनको मूल्य अस्वाभाविक रूपमा उच्च रहेको आरोप लगाए । 

उनका अनुसार भारतको सीमावर्ती अररियामा डिजेलको मूल्य नेपालभन्दा धेरै सस्तो छ भने सार्कका अन्य देशहरूको तुलनामा पनि नेपालमा इन्धन महँगो छ । खेतीपातीको सिजन भएकाले अहिले मूल्य घटे किसान र उपभोक्तालाई प्रत्यक्ष राहत पुग्ने उनको भनाइ छ ।

निरौलाले भने, ‘सार्क राष्ट्रहरू पाकिस्तान, भुटान र बङ्गलादेशको तुलनामा नेपालमा इन्धनको मूल्य उच्च बिन्दुमा पुगेको छ । निगमले पारदर्शी रूपमा मूल्य कायम नगरेको र डिलरहरूको कमिसन समेत रोकेको देखिन्छ । ’

छिमेकी देश भारतको अररियामा १५७ रुपैयाँ पर्ने डिजेल नेपालमा २२२ रुपैयाँ पुग्नुले उपभोक्तालाई ठूलो मार परेको उनले बताए ।

अमेरिका र इरानबीच युद्धविराम तथा समझदारी भएपछि विश्व बजारमा तेल आपूर्ति बढेको छ । इरानी तेलमाथिको अमेरिकी प्रतिबन्ध खुकुलो बनेपछि बजारमा थप तेल पुगेको छ भने स्ट्रेट अफ हर्मुजबाट तेल बोकेका जहाजहरूको आवतजावत पनि सामान्य बन्दै गएको छ । 

यसैको प्रभावस्वरूप ग्लोबल बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य युद्ध सुरु हुनुअघिकै करिब ७२.१२ डलर प्रतिब्यारेलको हाराहारीमा झरेको छ ।

आईओसीले आगामी जुन ३० मा नयाँ मूल्यसूची पठाउनेछ । यदि भारतले नेपाललाई इन्धन सस्तो मूल्यमा पठायो भने नेपाल आयल निगमले पनि पेट्रोलियम पदार्थको मूल्य घटाउने सम्भावना रहेको जनाएको छ ।

त्यसैले अहिले उपभोक्ताले विश्व बजारको मूल्यभन्दा बढी आईओसीको नयाँ मूल्यसूची कुरिरहेका छन् । यदि त्यहाँबाट राहत आयो भने मात्रै नेपाली बजारमा पनि पेट्रोल, डिजेल र अन्य इन्धनको मूल्य घट्ने बाटो खुल्नेछ । 

सरोकारवालाहरू अब ३० तारिख (१ तारिखदेखि लागू हुने) मा प्राप्त हुने नयाँ मूल्य सूचीको पर्खाइमा छन् । अन्तर्राष्ट्रिय बजारमा आएको गिरावटअनुसार भारतीय आयल कर्पोरेसनले मूल्य घटाएर पठाएमा नेपालमा पनि इन्धनको मूल्य घट्न सक्ने अपेक्षा गरिएको छ । निगमका प्रवक्ता ठाकुरले पनि यदि ३० तारिखमा घटेर आएमा सोहीअनुसार निर्णय हुने सकारात्मक सङ्केत दिएका छन् । 
 

Share News