लामो समय अफिसमा बसिरहनु स्वास्थ्यका लागि घातक, हरेक घण्टा  हिँड्न जरुरी

सांकेतिक तस्बिर ।

काठमाडौं । धेरैजसो कार्यालयमा कर्मचारीहरूको दिन कुर्सीमै बसेर बित्ने गर्छ । तर यस्तो बानीले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ ।  विज्ञहरूका अनुसार लामो समयसम्म लगातार बसिरहँदा मोटोपना, मुटुरोग तथा टाइप–२ मधुमेहको जोखिम बढ्न सक्छ ।

स्क्रिनबाट बेला–बेलामा विश्राम लिनु फाइदाजनक हुन्छ भन्ने कुरा धेरैलाई थाहा छ । तर कामका बीचमा शरीरलाई सक्रिय राख्न कति अन्तरालमा हिँडडुल गर्नुपर्छ भन्ने विषयमा स्पष्ट जानकारी कम छ ।

ब्रिटिस जर्नल अफ स्पोर्ट्स मेडिसिनमा प्रकाशित नयाँ अध्ययनले हरेक घण्टामा कम्तीमा पाँच मिनेट हिँड्न सुझाव दिएको छ । यसलाई ‘मुभमेन्ट स्न्याक’ नाम दिइएको छ ।

दिनभरि कार्यालयमा बसेर काम गर्ने मानिसहरूका लागि स्वास्थ्य राम्रो राख्ने यो सरल र प्रभावकारी उपाय मानिएको छ । यसले काममा पनि खास असर पार्दैन ।

अध्ययनका प्रमुख अनुसन्धानकर्ता किथ डियाजले अहिले अधिकांश मानिसहरू उठेदेखि सुत्नुअघिसम्मको करिब तीनचौथाइ समय बसेर बिताउने गरेको जानकारी दिए ।

उनी ‘कम बसौं, बढी हिँडौं’ भन्ने सल्लाहलाई निकै उपयोगी बताउँछन् ।

डियाजका अनुसार हरेक घण्टामा पाँच मिनेट हिँड्दा मुडमा सुधार हुन्छ र थकान कम महसुस हुन्छ । सहभागीहरूले यो सुझावलाई दैनिक जीवनमा सजिलै अपनाउन सकिने बताएका छन् ।

कोलम्बिया युनिभर्सिटीले गरेको यस अध्ययनमा अमेरिकाका ११ हजारभन्दा बढी कर्मचारी सहभागी थिए । अधिकांश सहभागी कार्यालयमा आठदेखि नौ घण्टासम्म काम गर्ने कर्मचारी थिए ।

पहिलो सातामा उनीहरूले आफ्नो सामान्य दैनिक तालिका कायम राखे । यस अवधिमा उनीहरूले दैनिक थकान, मनोस्थिति र कार्यक्षमतासम्बन्धी सर्वेक्षणमा उल्लेख गरे ।

त्यसपछि दुई सातासम्म उनीहरूलाई कामका क्रममा हरेक आधा घण्टा, एक घण्टा वा दुई घण्टाको अन्तरालमा पाँच मिनेट हिँड्न लगाइयो र पुनः सर्वेक्षणमा सहभागी गराइयो ।

नतिजाअनुसार हरेक आधा घण्टामा हिँड्दा मुडमा सुधार र थकानमा कमी देखिए पनि काममा केही अवरोध परेको पाइयो । हरेक दुई घण्टामा हिँड्नु नहिँड्नुभन्दा राम्रो भए पनि अपेक्षाकृत कम प्रभावकारी देखियो ।

तर हरेक घण्टामा पाँच मिनेट हिँड्दा कार्यक्षमता, एकाग्रता र मनोस्थितिमा उल्लेखनीय सुधार भएको अनुसन्धानकर्ताहरूले बताएका छन् ।

अनुसन्धानकर्ता डियाजका अनुसार लामो समयसम्म बसिरहने बानी परिवर्तन गर्न सजिलो छैन । अध्ययनमा सहभागी धेरै कर्मचारीहरूले बारम्बार ब्रेक लिँदा आफ्ना हाकिम वा सहकर्मीले कसरी लिने हो भन्ने चिन्ता व्यक्त गरेका थिए ।

उनले भने, ‘सुन्दा उल्टो लाग्न सक्छ, तर यस्ता मुभमेन्ट ब्रेकहरूले वास्तवमा कामको गुणस्तर सुधार गर्न सक्छन् । ब्रेकले एकाग्रता, स्मरणशक्ति र सोच्ने क्षमतामा सुधार ल्याउँछ। यसले मानिसलाई ताजगी र आरामको अनुभूति गराउँछ ।’

उनका अनुसार हिँडडुल गर्नु कम खर्चिलो उपाय हो र यसको अर्थ काम नै रोक्नुपर्छ भन्ने होइन । बैठकमा सहभागी हुँदै हिँड्न सकिन्छ वा फोनमा कुरा गर्दा पनि टहलिन सकिन्छ । कार्यालयभित्र वा बाहिर जहाँसुकै हिँड्न सकिन्छ ।

बिट्रिश हर्ट फाउन्डेसनकी वरिष्ठ कार्डियाक नर्स एमिली म्याकग्राथले पनि यस अध्ययनको प्रशंसा गरेकी छन् । उनका अनुसार शरीरको सानो–सानो गतिविधिले पनि स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सक्छ ।

यद्यपि उनले चेतावनी दिँदै भनिन्, ‘यो अध्ययन छोटो अवधिमा गरिएको हो र सहभागीहरूको अनुभवमा आधारित छ । त्यसैले मुटुको स्वास्थ्यमा दीर्घकालीन प्रभावबारे निष्कर्ष निकाल्न अझ विस्तृत र लामो अनुसन्धान आवश्यक छ ।’

Share News