स्विट्जरल्यान्डको लगातार दोस्रो जित, क्यानडालाई २-१ ले हराउँदै समूह विजेता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को अन्तिम खेलमा स्विट्जरल्यान्डले क्यानडामाथि २-१ को महत्वपूर्ण जित निकाल्दै समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ ।

भ्यानकुभरमा भएको खेलमा रुबेन भार्गास र जोहान मान्जाम्बीले दोस्रो हाफको सुरुआती १२ मिनेटभित्र १-१ गोल गरी स्विट्जरल्यान्डलाई २-१ को जित दिलाएका हुन् ।

क्यानडाले खेलमा फर्कने प्रयास गरे पनि स्विस टोलीले आफ्नो लय कायम राख्दै तीन अंक सुरक्षित गर्यो ।

यस जितसँगै स्विट्जरल्यान्डले समूह चरणमा ३ खेलबाट ७ अंक जोड्यो । उसले पहिलो खेलमा कतारसँग १-१ को बराबरी खेलेको थियो भने दोस्रो खेलमा बोस्निया-हर्जगोभिनालाई ४-१ ले पराजित गरेको थियो । अन्तिम खेलमा क्यानडालाई हराउँदै स्विट्जरल्यान्ड समूहको शीर्ष स्थानमा रह्यो ।

यता क्यानडाले पनि प्रभावशाली प्रदर्शन गरे पनि हार टार्न सकेन । क्यानडाले पहिलो खेलमा बोस्निया-हर्जगोभिनासँग १-१ को बराबरी खेलेको थियो भने दोस्रो खेलमा कतारलाई ६-० ले हराएको थियो ।

स्विट्जरल्यान्डसँगको हारका बाबजुद पनि क्यानडा समूह उपविजेताका रूपमा नकआउट चरणमा पुगेको छ ।

समूह ‘बी’ को अर्को खेलमा बोस्निया-हर्जगोभिनाले कतारलाई ३-१ ले हराएको थियो । त्यससँगै बोस्निया तेस्रो स्थानमा रहँदा कतार अंकविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

Share News