काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को अन्तिम खेलमा ब्राजिलले स्कटल्याण्डलाई ३-० गोलले पराजित गर्दै समूह विजेताको रूपमा नकआउट चरणमा प्रवेश गरेको छ ।
खेलमा ब्राजिलले सुरुदेखि नै बल नियन्त्रण गर्दै स्कटल्याण्डमाथि दबाब बनाएको थियो ।
भिनिसियसले खेलको सातौं मिनेटमै गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । उनले पहिलो हाफको अन्त्य हुनुअघि अर्को गोल थपी अग्रता दोब्बर बनाए ।
म्याथ्युस कुन्हाले ६० औं मिनेटमा गोल गर्दै ब्राजिललाई ३-० को जित दिलाए ।
समूह चरणका तीनै खेलमा गोल गरेका भिनिसियसले प्रतियोगितामा आफ्नो गोल संख्या चार पुर्याएका छन् ।
यससँगै उनी फ्रान्सका किलियन एमबाप्पेसँग बराबरीमा पुगेका छन् ।
प्रतियोगितामा अर्जेन्टिनाका लिओनल मेसी पाँच गोलसहित शीर्ष स्थानमा छन् ।
यस जितसँगै ब्राजिलले समूह चरण अपराजित रहँदै शीर्ष स्थान सुरक्षित गर्यो । तीन खेलबाट सात अंक जोडेको ब्राजिल नकआउट चरणमा पुगेको छ ।