काठमाडौं । शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसन (एससीएसएमएफ) ले नेपाली खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका दुई खेल व्यक्तित्वलाई ‘एससीएसएमएफ खेलकुद पुरस्कार २०२६’ प्रदान गरेको छ ।
मंगलबार काठमाडौंको कमलादीस्थित होटल रोयल सिंगी मा आयोजित विशेष समारोहमा नेपाली बक्सिङका वरिष्ठ खेलाडी तथा ओलम्पियन उमेश मास्के र राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी सन्दीप लामिछानेलाई सम्मान गरिएको हो ।
फाउण्डेसनले बक्सिङ खेलको विकास र प्रवर्द्धनमा दीर्घकालीन योगदान पुर्याएको कदर गर्दै मास्केलाई सम्मान गरेको जनाएको छ। उनले सन् १९८० को मस्को ओलम्पिक र १९८४ को लस एन्जलस ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेका थिए । सक्रिय खेल जीवनपछि पनि प्रशिक्षक तथा नेपाल बक्सिङ संघको नेतृत्वमार्फत उनले खेलको विकासमा महत्वपूर्ण योगदान दिँदै आएका छन् ।
यस्तै, अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको पहिचान स्थापित गर्न योगदान पुर्याउनुका साथै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो २०० विकेट पूरा गर्ने विश्व कीर्तिमान कायम गरेको उपलब्धिको कदर गर्दै लामिछानेलाई सम्मान गरिएको फाउण्डेसनले जनाएको छ ।
विदेशमा रहेकाले कार्यक्रममा उपस्थित हुन नसकेका लामिछानेको तर्फबाट काठमाडौं जिल्ला क्रिकेट संघका सचिव तथा पूर्व राष्ट्रिय खेलाडी किरण शमशेर जबरा राणा ले सम्मान ग्रहण गरेका थिए । भिडियो सन्देशमार्फत लामिछानेले सम्मानप्रति खुशी व्यक्त गर्दै स्वर्गीय शरद चन्द्र शाहाले नेपाली खेलकुदको विकासमा पुर्याएको योगदान स्मरण गरेका थिए ।
पुरस्कारस्वरूप दुवै खेल व्यक्तित्वलाई जनही दुई लाख ५० हजार रुपैयाँ नगद तथा सम्मानपत्र प्रदान गरिएको थियो ।
फाउण्डेसनका अनुसार नेपाली खेलकुदको विकासमा योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त पुरस्कार स्थापना गरिएको हो । यसअघि २०२४ मा बैकुण्ठ मानन्धर र एरिका गुरुङ तथा २०२५ मा राजुकाजी शाक्य र अरुणा शाहीलाई पनि यही सम्मान प्रदान गरिएको थियो ।