काठमाडौं । सरकारले विद्युतीय गाडीमा लाग्दै आएको कर परिवर्तन गरेसँगै कम्पनीहरूले गाडीको मूल्य बढाएका छन् । आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारले ईभीमा लागू गरेको नयाँ कर व्यवस्थाको प्रभाव बजारमा देखिन थालेको हो ।
बजेट सार्वजनिक भएको केही सातामै विभिन्न ब्रान्डका विद्युतीय गाडीको मूल्य वृद्धि भएको छ भने केही प्रिमियम मोडलको मूल्य एक करोड रुपैयाँभन्दा बढीले बढेको छ ।
बजारमा स्थापित बीवाईडी, हुण्डाई, टाटा, ओमोडा जेको जे दिपल, एमजी, जिलीलगायत ब्राण्डका विभिन्न सेग्मेन्टमा मूल्य बढेको छ ।
अटो व्यवसायीहरूले नयाँ कर संरचनाले विशेषगरी उच्च मूल्यका विद्युतीय गाडीलाई बढी प्रभावित गरेको जानकारी दिए । मूल्यका आधारमा कर निर्धारण गरिएकाले प्रिमियम सेग्मेन्टका ईभीको मूल्य बढेको हो ।
नेपालका लागि बीएमडब्लूको आधिकारिक वितरक लक्ष्मी प्रिमियम मोटर्सले बीएमडब्लूका विद्युतीय एसयूभीको मूल्य बढेको जनाएको छ । कम्पनीका अनुसार बजेको सबैभन्दा धेरै असर बीएमडब्लू आईएक्स वानमा परेको छ ।
यसअघि १ करोड ९९ लाख ९६ हजार रुपैयाँमा बिक्री हुँदै आएको उक्त मोडलको मूल्य एकैपटक १ करोड ३० लाख रुपैयाँले बढेर ३ करोड २९ लाख ९६ हजार रुपैयाँ पुगेको छ ।
यसअघि मोटरको क्षमता (किलोवाट) का आधारमा कर लाग्दै आएकोमा अब मूल्यका आधारमा कर निर्धारण हुन थालेपछि बीएमडब्लूजस्ता प्रिमियम ब्रान्डका मोडलमा ठूलो मूल्यवृद्धि भएको हो ।
बजेटपछि विशेष गरी महँगा र उच्च क्षमताका गाडीहरूको मूल्य बढेको छ भने बजारमा ग्राहकहरूको उपस्थितिमा केही सुस्तता व्यवसायीहरूको भनाइ छ ।
दिपल गाडीको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धिकी सेल्स प्रतिनिधि रितु भट्टराईले दिपलका लोकप्रिय मोडलहरूमा मूल्य वृद्धि भएको बताइन् ।
उनका अनुसार दिपल एस ०५ प्लसमा ४ लाख रुपैयाँ र एस ०५ म्याक्समा ३ लाख रुपैयाँले मूल्य बढेर क्रमशः ६३ लाख र ५८ लाख रुपैयाँ पुगेको छ । नयाँ आउने एस ०५ र एस ०७ मोडलहरूको मूल्य ९० लाख रुपैयाँ माथि पुग्न सक्ने आँकलन उनले गरेकी छन् ।
यस्तै, बिवाईडी गाडीका विभिन्न मोडलहरूको पनि मूल्य बढेको छ । बिवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिकी सेल्ड हेड सन्ध्या श्रेष्ठले एटो ३ को मूल्य २ लाख र एटो २ को मूल्य ३ लाख रुपैयाँले बढेको जानकारी दिइन् ।
उनका अनुसार हाल एटो ३ को मूल्य ६१ लाख ९९ हजार र एटो २ को ४८लाख ९९ हजार रुपैयाँ पुगेको छ । मूल्यवृद्धिका कारण शोरुमहरूमा ग्राहकको उपस्थिति केही पातलिएको उनको अनुभव छ ।
उनले भनिन्, ‘विशेषगरी विद्युतीय गाडीमा करको भार बढेकाले अहिले धमाधम मूल्य समायोजन गर्नु परेको हो । अहिले ग्राहकहरुको भीड पहिलाजस्तो छैन ।’
यस्तै, ओमोडा जेको गाडीको अधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सका मार्केटिङ हेड रूपेश श्रेष्ठले जेको जे ६ को मूल्य १ लाखले बढेर ६९ लाख ९९ हजार पुगेको बताए ।
त्यस्तै, आईकार भि २३ मा ३ लाख रुपैयाँले मूल्य वृद्धि भई ५४ लाख ९९ लाख पुगेको छ । ओमोडा ई ५ को हकमा भने कम्पनीले ५१ लाख ९९ लाखको एमआरपीमा छुट दिएर ४९ लाख ९९ हजार रुपैयाँको इन्ट्रोडक्टरी मूल्यमा उपलब्ध गराइरहेको छ ।
५० देखि ६० लाखको सेग्मेन्टमा गाडीको माग अझै राम्रो रहेको उनले बताए ।
यसैगरी, टाटा मोटर्स नेपालको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ्गका प्रमुख कार्यकारी आधिकारिक बिक्रेता (सिईओ) राजनबाबुका अनुसार बजेटले इन्ट्री लेबल (सानो) गाडीहरूमा खासै असर पारेको छैन । तर महँगा गाडीहरूमा भन्सार ड्युटी बढ्दा मूल्यमा चाप परेको छ ।
उनले भने, ‘२० देखि ३० लाख सम्मका गाडीहरूको मूल्य स्थिर रहे पनि नयाँ मोडलहरूको मूल्य भने कम्पनीले अझै सार्वजनिक गरिसकेको छैन । टाटाले आगामी दिनमा नयाँ मोडलहरू भित्र्याउने तयारी गरिरहेको छ ।’
हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी कन्टिनेन्टलका महाप्रबन्धक दीपक थपलियाले पनि ईभी सेग्मेन्टमा ३ देखि ४ लाख रुपैयाँसम्म मूल्य बढेको तर इन्धन गाडीको मूल्य यथावत रहेको बताए ।
बजेटमा कर घट्ने आशामा बसेका ग्राहकहरू कर बढेपछि केही निराश भएको र त्यसैमा मलमासजस्ता सांस्कृतिक कारणले गर्दा एक महिना बजार सुस्त रहेको उनको विश्लेषण छ ।
वार्षिक रूपमा १२ देखि १५ हजार गाडीको आयात हुने ट्रेन्ड भने अझै स्थिर रहेको उनले जानकारी दिए ।
यस्तै, जिलीको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले पनि आफ्ना ईभी मोडलको मूल्य समायोजन गरेको छ ।
कम्पनीले जिली ईएक्स फाइभ म्याक्सको मूल्य ३ लाख रुपैयाँ र प्रो भेरियन्टको मूल्य २ लाख रुपैयाँले बढाएको छ । नयाँ मूल्यसूचीअनुसार ईएक्स फाइभ म्याक्सको मूल्य ७३ लाख रुपैयाँ तथा प्रो भेरियन्टको मूल्य ६२ लाख रुपैयाँ पुगेको छ । यसअघि ती मोडल क्रमशः ७० लाख र ५८ लाख रुपैयाँमा बिक्री हुँदै आएका थिए ।
एमजीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले पनि आफ्ना विभिन्न मोडलमा मूल्यवृद्धि गरेको छ । कम्पनीले एमजी एस फाइभ लक्जरी भेरियन्टको मूल्य १ लाख रुपैयाँ तथा एमजी एस सिक्सको मूल्य २ लाख रुपैयाँले बढाएको छ । बजेटअघि ६९ लाख ९९ हजार रुपैयाँमा बिक्री हुँदै आएको एमजी एस सिक्स अब ७१ लाख ९९ हजार रुपैयाँ पुगेको छ ।
अटो व्यवसायीहरू मूल्य वृद्धिका बाबजुद मलमास सकिएसँगै बजारमा सोधपुछ र चहलपहल बढ्नेमा आशावादी देखिएका छन् । ससाना गाडीहरूको मूल्य स्थिर हुनु र चाडपर्वहरू नजिकिनुले अटो बजार पुनः लयमा फर्किने संकेत देखिएको व्यवसायीहरूको बुझाइ छ ।