काठमाडौं । फिफा विश्वकपमा नर्वेले सेनेगललाई ३-२ ले पराजित गर्दै अन्तिम ३२ मा स्थान बनाएको छ । नर्वेका लागि अर्लिङ हालान्डले दुई गोल गरे ।
हालान्डको यो दोस्रो विश्वकप खेल हो । उनले हालसम्म चार गोल गरिसकेका छन् । नर्वेका कुनै पनि खेलाडीले विश्वकप इतिहासमा ४ गोल गरेका छैनन् ।
खेलको पहिलो हाफको अन्त्यतिर वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका फुलब्याक मार्कस पेडर्सेनले गोल गर्दै नर्वेलाई सुरुवाती अग्रता दिलाएका थिए ।
खेलको ४८औँ मिनेटमा मार्टिन ओडेगार्डको उत्कृष्ट थ्रु पासमा दौडिँदै हालान्डले गोल गर्दै नर्वेको अग्रता दोब्बर बनाए ।
सेनेगलका इस्मालिया सारले खेलको ५३ औं मिनेटमा गोल गर्दै खेललाई २-१ को अवस्थामा पुर्याए ।
पहिलो गोल गरेको १० मिनेटमै पुनः गोल गर्दै हालान्डले नर्वेलाई ३-१ ले अगाडि बढाए ।
सारले इन्जुरी समयमा व्यक्तिगत दोस्रो गोल गरे । खेलको अन्तिम क्षणमा उनले बराबरी गोल गर्ने उत्कृष्ट अवसर पनि पाए सदुपयोग भने गर्न सकेनन् ।
दोस्रो जितसँगै नर्वे समूह ‘आई’ बाट फ्रान्ससँगै नकआउट चरणमा पुगेको छ ।
उता सेनेगलले भने अन्तिम समूह खेलमा इराकलाई हराउनै पर्ने अवस्था छ ।