तुलसीपुरको बजेट साढे २ अर्ब घोषणा, गर्भवतीलाई अण्डा बाँड्न ८५ लाख रुपैयाँ

काठमाडौं । दाङ तुलसीपुर उप-महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २ अर्ब ४४ करोड ९५ लाख ९१ हजार रुपैयाँ बराबरको वार्षिक बजेट सार्वजनिक गरेको छ । उप-महानगरपालिकाको १९औँ नगर सभाको अधिवेशनमा आज नगर उपप्रमुख श्यानी चौधरीले ‘हाम्रो तुलसीपुर, राम्रो तुलसीपुर, खुसी जनता समृद्ध तुलसीपुर’ भन्ने मूल नाराका साथ उक्त बजेट प्रस्तुत गरेका हुन् । 

आगामी आवको बजेटको कूल विनियोजनमध्ये चालु खर्चतर्फ १ अर्ब ३९ करोड ६० लाख २१ हजार रुपैयाँ (५७ प्रतिशत) र पुँजीगततर्फ १ अर्ब १ करोड ३८ लाख २८ हजार रुपैयाँ (४१ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ ४ करोड रुपैयाँ (१.६५ प्रतिशत) रहेको छ ।

आगामी आवका लागि खर्च व्यहोर्ने स्रोतमा आन्तरिक स्रोतबाट ५४ करोड रुपैयाँ, सङ्घीय सरकारको समानुकरण अनुदानबाट २८ करोड ७७ लाख रुपैयाँ, सङ्घीय सशर्त अनुदानबाट ६७ करोड २३ लाख रुपैयाँ र गत वर्षको बैंक मौज्दातबाट ३० करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

बजेटले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास र सामाजिक सुरक्षालाई मुख्य प्राथमिकतामा राखेको छ । नगरका १९ वटै वडाका लागि १ करोड रुपैयाँका दरले जम्मा १९ करोड रुपैयाँ वडास्तरीय योजनाका लागि विनियोजन गरिएको छ । शिक्षा क्षेत्रको पूर्वाधार निर्माणका लागि ३ करोड रुपैयाँ, स्वास्थ्य पूर्वाधारका लागि १ करोड रुपैयाँ र खानेपानी तथा सरसफाइका लागि १ करोड रुपैयाँ छुट्याइएको छ ।

बजेटमा ‘स्मार्ट छोरी’ कार्यक्रमका लागि ५० लाख रुपैयाँ, मुख्य बजारमा दुर्घटना न्यूनीकरण गर्न आकाशे पुल निर्माणका लागि ५० लाख रुपैयाँ, कृषि एम्बुलेन्सका लागि ६० लाख रुपैयाँ विनियोजन गरिएको छ । सामुदायिक विद्यालयमा प्रविधिमैत्री कक्षा सञ्चालन, गरिब तथा विपन्न विद्यार्थीका लागि छात्रवृत्ति र स्वास्थ्य चौकीमा गर्भवती जाँच गराउन आउनेलाई  प्रतिपटक एक क्यारेट अण्डा वितरण गर्ने कार्यक्रमका लागि ८५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

आर्थिक विकासतर्फ कृषि क्षेत्रका लागि ३ करोड रुपैयाँ र पशु विकास सेवाका लागि २ करोड रुपैयाँ विनियोजन गरिएको छ । उपमहानगरपालिकाले बजार क्षेत्रको फोहर व्यवस्थापनका लागि आधुनिक कम्प्याक्टर र आगलागी नियन्त्रणका लागि दमकल खरिद गर्न १/१ करोड रुपैयाँ विनियोजन गरेको छ । 

Share News