काठमाडौं । एनसेल र ट्राभल प्लेटफर्म ट्रिप टर्बोबीच साझेदारी भएपछि अब एनसेलका ग्राहकले बस तथा आन्तरिक हवाई टिकट बुकिङदेखि साहसिक गतिविधिसम्ममा आकर्षक छुट पाउने भएका छन् ।
दुवै कम्पनीबीच भएको सहकार्यअनुसार ९९ रुपैयाँ वा सोभन्दा बढी मूल्यको प्याक खरिद गर्ने एनसेल ग्राहकले ट्रिप टर्बोमार्फत यात्रा र मनोरञ्जनसम्बन्धी सेवामा विभिन्न छुट तथा अफर प्राप्त गर्न सक्नेछन् । ग्राहकले एनसेल एपबाटै डिजिटल माध्यममा यी सेवाहरू प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ ।
सहकार्यअन्तर्गत ग्राहकले साहसिक तथा मनोरञ्जनात्मक गतिविधिमा अधिकतम ८ हजार रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् । यस्तै, पहिलो आन्तरिक हवाई टिकट बुकिङमा २०० रुपैयाँ र त्यसपछिका प्रत्येक उडानमा १४० रुपैयाँ छुट पाइनेछ । बस टिकट बुकिङमा भने १११ रुपैयाँ छुट उपलब्ध हुनेछ ।
यी अफरहरू एनसेल एपको ‘पार्टनर्ड सर्भिसेज’ अन्तर्गत रहेको ‘ट्रिप टर्बो’ सेक्सनमार्फत प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । उक्त सेक्सनमार्फत ग्राहकले यात्रा, मनोरञ्जन र साहसिक गतिविधिसम्बन्धी छुट तथा सुविधाहरू सहज रूपमा खोज्न र प्रयोग गर्न सक्नेछन् ।
साझेदारीबारे एनसेलका चीफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले कनेक्टिभिटीसँगै यात्रा र लाइफस्टाइलसँग सम्बन्धित थप मूल्य ग्राहकसम्म पुर्याउने उद्देश्यले ट्रिप टर्बोसँग सहकार्य गरिएको बताए । उनका अनुसार यसले ग्राहकलाई यात्रा तथा अन्य गतिविधिमा बचत गर्दै थप सहज र किफायती अनुभव प्रदान गर्नेछ ।
एनसेलले पछिल्ला वर्षहरूमा आफूलाई डिजिटल लाइफस्टाइल पार्टनरका रूपमा विकास गर्ने रणनीति अघि बढाएको छ । कम्पनीका अनुसार एनसेल एपमा नयाँ सेवा र साझेदारका अफरहरू एकीकृत गर्दै ग्राहकलाई परम्परागत दूरसञ्चार सेवाभन्दा बाहिरका थप सुविधा उपलब्ध गराउने प्रयास भइरहेको छ ।
ट्रिप टर्बोले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई टिकट, बस टिकट, होटल बुकिङ, होलिडे प्याकेज तथा ग्राहकको आवश्यकताअनुसार तयार गरिएका यात्रा सेवाहरू प्रदान गर्दै आएको छ । कम्पनीका अनुसार यो साझेदारीले ग्राहकलाई थप सुविधा, विकल्प र डिजिटल अनुभव उपलब्ध गराउनेछ ।