विद्युत नियमन आयोगको अध्यक्ष र सदस्यका लागि ७ जना सर्टलिस्टमा, असार ६ गते अन्तर्वार्ता हुने

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको विद्युत नियमन आयोगको अध्यक्ष र सदस्य नियुक्ति सिफारिस समितिले सात जना उम्मेदवारहरूको सर्टलिस्ट (छनोट सूची) सार्वजनिक गर्दै कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताको मिति तय गरेको छ । 

समितिले २०८३ जेठ ७ गते प्रकाशित सूचना अनुसार दरखास्त दिएका उम्मेदवारहरूमध्ये न्यूनतम शैक्षिक योग्यता, कार्यअनुभव र व्यावसायिक कार्ययोजनाको मूल्याङ्कनमा ५० प्रतिशत वा सोभन्दा बढी अङ्क प्राप्त गर्ने उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो ।

छनोट भएका उम्मेदवारहरूको कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता आगामी २०८३ साल असार ६ गते शनिबारका दिन दुईवटा सत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिवको बैठक कक्षमा हुने सूचनामा उल्लेख छ ।

समितिका अनुसार असार ६ गते बिहान ९ बजे हुने प्रथम सत्रको प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि ललितपुरका केशवध्वज अधिकारी, सिन्धुपाल्चोकका डा. रामप्रसाद धिताल, काठमाडौंका मधुप्रसाद भेटुवाल र काठमाडौंकै मोती बहादुर कुँवर छनोट भएका छन् ।

यसैगरी, सोही दिन दिउँसो २ बजे हुने दोस्रो सत्रका लागि काठमाडौंका डा. मधुसुधन अधिकारी, गोरखाका डा. भोलानाथ शर्मा घिमिरे र चितवनका नारायण प्रसाद सापकोटा छानिएका छन् ।

छनोट भएका सम्पूर्ण उम्मेदवारहरूलाई दरखास्तसाथ पेस गरेका शैक्षिक योग्यता र अनुभवका प्रमाणपत्र तथा कागजातहरूको सक्कल प्रतिसहित उपस्थित हुन अनुरोध गरिएको छ । 

समितिका अनुसार प्रत्येक उम्मेदवारका लागि व्यावसायिक कार्ययोजना प्रस्तुतीकरणको अवधि अधिकतम १५ मिनेटको रहनेछ ।

Share News