विश्वकप २०२६ लक्षित टेलिकमको अफर, ग्राहक गुनासोका लागि छुट्टै नम्बर

काठमाडौं । नेपाल टेलिकमले फिफा विश्वकप २०२६ लाई लक्षित गर्दै ‘फिफा वल्ड कप २०२६ टीभी प्याकेज’ सार्वजनिक गरेको छ । कम्पनीले उक्त प्याकेजसँग सम्बन्धित कुनै समस्या वा गुनासो भएमा २४सै घण्टा ग्राहक सेवा उपलब्ध गराउने व्यवस्था गरेको जनाएको छ ।

टेलिकमका अनुसार ग्राहकहरूले प्याकेज खरिदका क्रममा समस्या आएमा वा कुनै गुनासो भएमा १९८ नम्बरमा सम्पर्क गर्न सक्नेछन् । त्यस्तै, वैकल्पिक रूपमा ०१–५९७००१९ नम्बरमा पनि सम्पर्क गरी सेवा लिन सकिने बताइएको छ । कम्पनीले प्राप्त गुनासोलाई प्राथमिकताका साथ समाधान गर्ने जनाएको छ ।

उक्त टीभी प्याकेज अन्तर्गत एनटीटीभी ग्राहकहरूले ९९९ रुपैयाँमा विश्वकपका रोमाञ्चक खेलहरूको प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन् । साथै, वार्षिक १०० एमबीपीएस वा सोभन्दा माथिको इन्टरनेट स्पीडसहित प्रिमियम आईपीटीभी प्याकेज नयाँ जडान गर्ने, नवीकरण गर्ने वा अपग्रेड गर्ने ग्राहकहरूले यो प्याकेज बोनसका रूपमा निःशुल्क प्राप्त गर्न सक्नेछन् ।

बोनस प्याकेज प्राप्त गर्न ग्राहकहरूले आफ्नो मोबाइलबाट *१४१६# नम्बरमा डायल गरी आवश्यक निर्देशन अनुसार सेटटप बक्सको विवरण उपलब्ध गराउनुपर्नेछ ।

त्यसैगरी, एनटीटीभी ग्राहकहरूले आफ्नो टेलिभिजनमार्फत हिमालय स्पोर्ट्स च्यानल चयन गर्दा इन्ट्री स्क्रिन देखिनेछ । उक्त स्क्रिनमा नेपाल टेलिकमको प्रिपेड वा पोस्टपेड मोबाइल नम्बर प्रविष्ट गरेपछि प्राप्त ओटीपी इन्टर गरेसँगै मोबाइल ब्यालेन्सबाट ९९९ रुपैयाँ कट्टा भई प्याकेज तुरुन्त सक्रिय हुने व्यवस्था गरिएको छ ।

कम्पनीका प्रवक्ता डा. कमल लामिछानेले ग्राहक सुविधालाई ध्यानमा राख्दै सहज सेवा प्रवाहको व्यवस्था गरिएको जानकारी दिएका छन् । साथै, नजिकको नेपाल टेलिकम सेवा केन्द्रबाट समेत उक्त प्याकेज सक्रिय गर्न सकिने जनाइएको छ । 

Share News