काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले धितो बन्धक रोक्का तथा फुकुवा सम्बन्धी सेवा अनलाइन प्रणालीमार्फत सञ्चालनमा ल्याएको छ ।
नेपाल सरकारको शासकीय सुधारसम्बन्धी कार्यसूची अन्तर्गत नतिजामा आधारित शासकीय व्यवस्थापन लागू गर्दै नागरिकलाई छिटो, सहज तथा पूर्वानुमानयोग्य समयभित्र सेवा उपलब्ध गराउने उद्देश्यले बैंकले उक्त सेवा सुरु गरेको हो । यस प्रणालीले सेवा प्रक्रियालाई मुहारविहीन, समयबद्ध र पूर्ण रूपमा डिजिटल बनाउने लक्ष्य राखेको बैंकले जनाएको छ ।
बैंकका अनुसार हालसम्म ८०० भन्दा बढी धितो बन्धक रोक्का तथा फुकुवा कार्य यही अनलाइन प्रणालीमार्फत सम्पन्न भइसकेका छन् । यसअघि भूमि व्यवस्थापन तथा अभिलेख विभाग र बैंकबीच यससम्बन्धी समझदारी भएपछि सेवा कार्यान्वयनमा ल्याइएको हो ।
अनलाइन प्रणालीमार्फत धितो रोक्का तथा फुकुवा गर्दा प्रक्रिया छिटो, पारदर्शी र सहज हुनुका साथै समय र खर्च बचत हुने तथा ग्राहक सन्तुष्टि बढ्ने अपेक्षा गरिएको छ ।
वि.सं. २०२२ सालमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल सातै प्रदेशका ७७ जिल्लामा ३१५ शाखा कार्यालयमार्फत कर्जा, निक्षेप, एटिएम, मोबाइल बैंकिङ लगायतका आधुनिक डिजिटल सेवा प्रदान गर्दै आएको छ ।