काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफर र भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयुक्त सहकार्यमा 'भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२' सम्पन्न भएको छ । कार्यक्रम जेठ २४ गते कुपण्डोलस्थित होटल हिमालयमा आयोजना गरिएको थियो ।
उक्त समारोहमा गायनतर्फ वरिष्ठ गायिका मीरा राणा र संगीततर्फ बरिष्ठ संगीतकार सि.के. रसाइलीलाई जनही १ लाख १ रुपैयाँ नगदसहित सम्मान प्रदान गरिएको छ । नगद पुरस्कार प्राप्त गरेकी गायिका राणाले आफू क्यान्सर सर्भाइभर रहेको उल्लेख गर्दै उक्त रकम क्यान्सर समाजलाई हस्तान्तरण गरेकी छन् । उनले क्यान्सर पीडित कलाकारलाई सहयोग गर्ने उद्देश्यले हालै क्यान्सर समाज स्थापना गरिएको जानकारी दिइन् ।
यसैगरी कार्यक्रममा ‘सुशीला आचार्य सु–स्वास्थ्य कामना सम्मान’ वरिष्ठ संगीतकार तथा गितारवादक दीपक थापा र अभिनेता पवन मैनालीलाई प्रदान गरिएको छ । ५० हजार रुपैयाँ राशिको उक्त सम्मान सांगीतिक क्षेत्रमा क्रियाशील भई स्वास्थ्योपचार गराइरहेका स्रष्टालाई प्रदान गरिँदै आएको छ ।
सम्मान कार्यक्रममा भक्तराज आचार्य संगीत प्रतिष्ठानकी अध्यक्ष सुशीला आचार्य र सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक चन्द्र टण्डनले संयुक्त रूपमा पुरस्कार हस्तान्तरण गरेका थिए । प्रतिष्ठानले संगीत तथा कला क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ भने सिटी एक्सप्रेसले सामाजिक उत्तरदायित्वअन्तर्गत निरन्तर सहयोग गर्दै आएको जनाएको छ ।
सिटी एक्सप्रेस मनि ट्रान्सफरले विगत १९ वर्षदेखि विश्वका विभिन्न देशबाट विप्रेषण सेवा प्रदान गर्दै आएको छ । कम्पनीले हालै ‘सिटी पे’ वालेटमार्फत अनलाइन भुक्तानी सेवा सुरु गरेको छ भने सोही माध्यमबाट रेमिट्यान्स भुक्तानीसमेत गर्न सकिने व्यवस्था गरिएको छ ।