'करको भार घट्यो, आत्मविश्वास बढ्यो'

सेयर बजार र उर्जा क्षेत्रका लागि बजेट स्वागतयोग्य छ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले निजी क्षेत्रले बजेटलाई परम्परागत रूपमा समर्थन वा विरोधमात्र नगर्ने प्रष्ट पारेका छन् । बजेटले देशमा लगानीको वास्तविक वातावरण सिर्जना गर्यो कि गरेन भन्ने कुरा मुख्य भएको उनको भनाइ छ ।

बजेट वक्तव्यपछि आफ्नो धारणा राख्दै अध्यक्ष श्रेष्ठले आगामी बजेटले निजी क्षेत्रको खस्किएको आत्मविश्वास बढाउने अपेक्षा गरिएको बताए ।

नेपालमा उद्योग व्यवसाय सञ्चालनका लागि कानुनको अभाव भन्दा पनि पुराना र अल्झाउने खालका कानुनहरू मुख्य समस्या रहेको अध्यक्ष श्रेष्ठले औंल्याए। 

‘पुराना अल्झाउने कानुनले निजी क्षेत्रमा समस्या निम्त्याइरहेको छ,’ उनले भने, ‘तर यस पटकको बजेटमार्फत विभिन्न अनावश्यक निकायहरूको खारेजी र मर्जर गर्ने घोषणा हुनु सकारात्मक छ । यसबाट हामीले राम्रो अपेक्षा राखेका छौं ।’

नेपालमा वैदेशिक लगानी भित्र्याउने सवालमा उनले कानुनी जटिलता सुधार्नुपर्नेमा जोड दिए । विदेशी पुँजी कानुनभन्दा पनि ‘विश्वास’ मा बग्ने भएकाले नेपाललाई लगानीमैत्री गन्तव्यका रूपमा स्थापित गर्न उचित वातावरण बनाउनु जरुरी रहेको उनको तर्क थियो ।

यद्यपि ऊर्जा क्षेत्रका लागि भने बजेट सकारात्मक रहेको उनले बताए । बजेटले ऊर्जा उत्पादनसँगै यसको निर्यातमा विशेष जोड दिएकोमा उनले खुसी व्यक्त गरे ।

बजेटले शेयर बजारका लागि गरेको व्यवस्थाको स्वागत गर्दै अध्यक्ष श्रेष्ठले पूँजीगत लाभकरको अन्तिम व्यवस्थाले पुँजी बजारमा सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे।

तर, कर नीतिका सम्बन्धमा भने उनले मिश्रित प्रतिक्रिया दिएका छन् । केही वस्तुहरूमा करका दरहरू खारेज गरिए तापनि समग्रमा करको वास्तविक भार नघटेको उनको दाबी छ । 

अझै पनि केही निश्चित क्षेत्रहरूमा करको भार यथावतै रहेकाले यसले उद्योगी व्यवसायीलाई सजिलो नबनाउने उनले उल्लेख गरे ।

Share News