काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट विभिन्न मितिमा चोरी भएका ४० वटा दुई पाङ्ग्रे सवारीसाधन (मोटरसाइकल र स्कुटर) खोजतलास गरी ट्राफिक प्रहरीले बुधबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक विशेष कार्यक्रमका बीच कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले २५ वटा मोटरसाइकल र १५ वटा स्कुटर धनीहरूलाई बुझाए।
पीडितहरूले दिएको निवेदन र प्राप्त सूचनाका आधारमा प्रहरीले उपत्यकाका सिम्ले, गुर्जुधारा, धर्मस्थली, नयाँबसपार्क, सातदोबाटो, बानेश्वर, जोरपाटी, कीर्तिपुर, सुकेधारा, बौद्ध र जयबागेश्वरी लगायतका दर्जनभन्दा बढी स्थानहरूबाट यी सवारी साधन फेला पारेको थियो ।
बरामद गरिएका सवारी साधनहरूमध्ये केही वास्तविक नम्बर प्लेटमै र केही नक्कली नम्बर प्लेट राखेर चलाएको अवस्थामा फेला परेका थिए ।
साउनयता ५०२ सवारी साधन फिर्ता, ४५ जना पक्राउ
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षको गत साउन महिनायता मात्रै कुल ५०२ वटा चोरीका सवारी साधन फेला पारेर धनीको जिम्मा लगाइसकिएको छ ।
यस्तै, चोरीका अन्य ३० वटा सवारी साधनसहित चोरी कार्यमा संलग्न ४५ जना व्यक्तिहरूलाई समेत नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा वृत्तहरूमा पठाइएको प्रहरीले जनाएको छ।
वर्षौंदेखि हराएका आफ्ना सवारीसाधन फिर्ता पाएपछि सवारी धनीहरूले खुसी व्यक्त गर्दै ट्राफिक प्रहरीलाई सामूहिक रूपमा धन्यवाद दिएका थिए ।
सवारीसाधन चोरी तथा हराउने क्रमलाई रोक्नका लागि नागरिक स्वयम् पनि सचेत हुनुपर्ने ट्राफिक प्रमुख एसएसपी नवराज अधिकारीले बताएका छन् ।
उनले सवारीसाधन सुरक्षित स्थानमा मात्र पार्किङ गर्न, ह्यान्डिल लक र डिस्क लकका साथै सुरक्षा साइरन र जीपीएस प्रविधिको प्रयोग गर्न सर्वसाधारणलाई अनुरोध गरे ।
साथै सवारीसाधन हराएमा तुरुन्त ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ वा नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न, अथवा नजिकको प्रहरी कार्यालयमा लिखित निवेदन दिन ट्राफिक कार्यालयले आग्रह गरेको छ ।