काठमाडौं । विपक्षी दल नेपाल कम्युनिष्ट पार्टी एमालेले संगठन सुदृढीकरण र सदस्यता विस्तारलाई केन्द्रमा राख्दै आजदेखि दुईदिने राष्ट्रिय कार्यशालाको आयोजना गरेको छ ।
सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा विषयक कार्यशाला काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा आज बिहान ११ बजेदेखि सुरु हुने केन्द्रीय सदस्य डा. भीष्म अधिकारीले जानकारी दिए । डा. अधिकारीका अनुसार कार्यशालाको उद्घाटन पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने छन् ।
पार्टीको सांगठनिक गतिशीलता बढाउने, सदस्यता व्यवस्थापनलाई थप प्रभावकारी बनाउने तथा आगामी राजनीतिक चुनौतीका लागि संगठनलाई तयार पार्ने उद्देश्यसहित कार्यशाला आयोजना गरिएको एमालेले कार्यालय सचिवसमेत रहेका अधिकारीले जानकारी दिए ।
कार्यशालामा प्रदेश तथा जिल्ला इन्चार्जहरू, प्रदेश कमिटीका पदाधिकारी, कार्यालय सचिव, जिल्ला कमिटी अध्यक्ष, संगठन विभाग प्रमुख तथा विभिन्न जनसंगठनका अध्यक्ष र संगठन विभाग प्रमुखहरूको सहभागिता रहनेछ ।
दुई दिनसम्म चल्ने कार्यशालामा सदस्यता नवीकरण र विस्तार अभियान, संगठन सुदृढीकरणका रणनीति, प्रविधिमैत्री सदस्यता व्यवस्थापन तथा भावी कार्ययोजनाबारे गहन छलफल हुने जनाइएको छ ।
कार्यक्रममा संगठन विभाग प्रमुख भानुभक्त ढकालले पार्टी संगठनको समग्र अवस्था समेटिएको कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । केन्द्रीय सदस्य माधव ढुङ्गेलले सदस्यता नवीकरणको प्राविधिक पक्षबारे कार्यपत्र प्रस्तुत गर्ने तयारी गरिएको छ ।
सहभागीलाई विभिन्न समूहमा विभाजन गरी छलफल, सुझाव सङ्कलन तथा प्रस्तुतीकरण गरिने कार्यसूची रहेको डा. अधिकारीले बताए । कार्यशालाको समापन भोलि बिहीबार महासचिव शंकर पोखरेलले गर्ने कार्यक्रम छ ।
एमालेले यस कार्यशालालाई संगठन सुदृढीकरण अभियानको महत्वपूर्ण कडीका रूपमा लिँदै देशव्यापी सदस्यता विस्तार र पार्टी संरचनालाई थप सशक्त बनाउने दिशामा केन्द्रित गरेको जनाएको छ ।