एसईई दिएका विद्यार्थीका लागि गोल्डेनगेटमा बास्केटबल प्रतियोगिता हुने

काठमाडौं । गोल्डेनगेट इन्टरनेशनल कलेजअन्तर्गतको गोल्डेनगेट बास्केटबल क्लबले एसईई परीक्षा दिएका विद्यार्थीहरूलाई लक्षित गर्दै बास्केटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

प्रतियोगिता आगामी जेठ ८ र ९ गते काठमाडौंको बत्तीसपुतलीस्थित कलेज परिसरमा सञ्चालन हुने जनाइएको छ ।

विद्यार्थीहरूमा खेल प्रतिभा पहिचान, प्रोत्साहन तथा राष्ट्रिय स्तरको खेलकुद वातावरणसँग जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको कलेजले जनाएको छ । १३ पटक राष्ट्रिय च्याम्पियन बनेको क्लबले युवा खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने विश्वास लिएको छ ।

प्रतियोगितामा विजेता टोलीले २० हजार रुपैयाँ तथा उपविजेता टोलीले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै, उत्कृष्ट खेलाडीलाई बास्केटबल जुत्ता प्रदान गरिनेछ ।

प्रतियोगितामा सहभागी सबै विद्यार्थीहरूलाई वरिष्ठ प्रशिक्षक मनिष नाकर्मी तथा राष्ट्रिय खेलाडीहरूको प्रशिक्षणमा सञ्चालन हुने १५ दिने निःशुल्क बास्केटबल क्याम्पमा सहभागी हुने अवसर समेत प्रदान गरिनेछ ।

कलेजका अनुसार सहभागी एसईई उत्तीर्ण विद्यार्थीहरूले कक्षा ११ मा विशेष छात्रवृत्तिमा भर्ना हुने अवसर पनि पाउनेछन् । उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई गोल्डेनगेट बास्केटबल क्लबमा आबद्ध हुने अवसर समेत दिइने जनाइएको छ ।

प्रतियोगितामा सहभागी हुन प्रति टोली १ हजार रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । इच्छुक टोलीहरूले अनलाइनमार्फत दर्ता गर्न सक्नेछन् ।

आयोजकले एसईई दिएका सम्पूर्ण विद्यार्थीहरूलाई प्रतियोगितामा सहभागी भई आफ्नो खेल प्रतिभा प्रदर्शन गर्न आग्रह गरेको छ ।   

Share News